काठमाडौँ । प्रहरीले अनलाइन सट्टेबाजी तथा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–६ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्दै आएका ३० वर्षीय नवीन पौडेल, १९ वर्षीय राहुल वेल्वासे र २८ वर्षीय रविन वेल्वासे रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रहरीका अनुसार २१ गते राति करिब ९ बजे काठमाडौँ महानगरपालिका–१० बानेश्वरस्थित सडक खण्डमा शंकास्पद अवस्थामा रहेका उनीहरूलाई प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार उनीहरूले वानएक्स बिइटी एपमार्फत सट्टेबाजी गर्ने–गराउने गरेको र ठूलो परिमाणमा यु एसडीटी लगायत अभौतिक मुद्राको कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
उनीहरूको कारोबार विवरणमा ७९ हजार ६८ दशमलव ६५ यु एसडीटी नेपाली रुपैयाँमा करिब १ करोड २० लाख ५१ हजार ८८१ रुपैयाँ र १ हजार ५०१ दशमलव ३२ यु एसडीटी नेपाली रुपैयाँमा करिब २ लाख २८ हजार ८३६ रुपैयाँ बराबरको अभौतिक मुद्रा मौज्दातसमेत फेला परेको प्रहरीले जनाएको छ ।
यसैगरी, उनीहरूले वानएक्स बिइटी मार्फत २ लाख ६ हजार रुपैयाँभन्दा बढीको सट्टेबाजी कारोबार गरेको देखिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूको साथबाट पाँच थान मोबाइलसमेत बरामद गरेको छ।






