काठमाडौँ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल सञ्चालनको तयारी पूरा भएको छ । भवन निर्माण सम्पन्न भए पनि अस्पताललाई तोकिएको क्षमताअनुसार सञ्चालन गर्न आवश्यक स्वास्थ्य उपकरण तथा जनशक्ति व्यवस्थापन गर्नुपर्ने अवस्था गाउँपालिकाले जनाएको छ ।
सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गरिएको अस्पताल भवन केही साताअघि सम्पन्न भई गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । आर्थिक वर्ष २०७७र७८ मा काम सुरु भएको भवन रु. छ करोड १८ लाख ७९ हजार ४८१ को लागतमा निर्माण गरिएको हो ।
दुईतले आरसिसी भवनमा उपचार कक्ष, शौचालय, विद्युत् तथा खानेपानीलगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गरिएको छ । भवनको जिम्मा पाएको शृङ्खला निर्माण सेवा प्रालि बिदुर नगरपालिका-४ (नुवाकोट)ले निर्माण सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरिसकेको छ ।
अस्पताल सञ्चालनका लागि दुई चिकित्सकसहित २२ जनाको दरबन्दी कायम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिए। चिकित्सक, स्वास्थ्यकर्मी, प्रयोगशाला, फार्मेसी तथा प्रशासनतर्फका कर्मचारीको दरबन्दी रहे पनि आवश्यकता अनुसार थप जनशक्ति करार सेवाबाट व्यवस्थापन गरिने उनले बताए ।
अस्पताल सञ्चालनका लागि आवश्यक स्वास्थ्य उपकरण तथा अन्य सामग्री व्यवस्थापन गर्न संघ र प्रदेश सरकारसँग माग गरिएको प्रशासकीय अधिकृत पौडेलले बताए । आवश्यक उपकरण तथा स्रोतसाधन उपलब्ध भएपछि अस्पताललाई निर्धारित सेवा र क्षमताअनुसार सञ्चालन गर्न सहज हुने गाउँपालिकाको भनाइ छ ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले आधारभूत स्वास्थ्य सेवा, आकस्मिक सेवा तथा दन्त उपचार सेवा स्थानीयस्तरबाटै प्राप्त गर्ने बताए । जटिल प्रकृतिका बिरामीलाई भने आवश्यकता अनुसार सुविधा सम्पन्न अस्पतालमा पठाइने उनले जानकारी दिए।
गाउँपालिकाले यही साउन अन्त्यसम्म अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । हाल वडा नं ७ मा सञ्चालन हुँदै आएको स्वास्थ्य चौकीलाई साउन महिनाभित्रै नयाँ अस्पताल भवनमा स्थानान्तरण गरी सोही भवनबाट स्वास्थ्य सेवा प्रवाह गर्ने तयारी गरिएको गाउँपालिका कार्यालयले जनाएको छ ।
दश शय्याको अस्पताल सञ्चालनका लागि भवन, दरबन्दी तथा आधारभूत पूर्वाधार तयार भए पनि आवश्यक उपकरण र स्रोतसाधनको व्यवस्थापन पूरा गर्नुपर्ने भएकाले अस्पताललाई तोकिएको क्षमताअनुसार सञ्चालन गर्न चुनौती रहेको गाउँपालिकाले जनाएको छ । आवश्यक व्यवस्था पूरा भएमा मर्स्याङ्दी गाउँपालिकाका नागरिकले आधारभूत स्वास्थ्य सेवा, आकस्मिक तथा दन्त उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।






