काठमाडौँ । नवलपरासी (बर्दाघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–१६ स्थित पत्थर खोलाको पुलनजिकै माइक्रो बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।
नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ज १००० नम्बरको ईभी हाइस (माइक्रो बस) को अगाडिको बायाँतर्फको टायर पन्चर भई अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ। चालक र सहचालकसहित ७ जना सवार रहेको उक्त माइक्रो दुर्घटनामा ६ जना घाइते भएका हुन्।
घाइतेमध्ये चालक महतोको कालीगण्डकी अस्पतालमा उपचारपश्चात् प्रहरीले नियन्त्रणमा लिएको छ। अन्य घाइतेहरूको मध्य बिन्दु अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।






