काठमाडौँ । बूढानीलकण्ठ स्कुलको आयोजनामा सामाजिक यथार्थ, बालमनोविज्ञान र अभिभावकीय जिम्मेवारीलाई विषय बनाइएको नाटक ‘फलामे गेट’ चार दिनको प्रदर्शनपछि सम्पन्न भएको छ। नाटकको समापनसँगै विद्यालयले नाटककार तथा निर्देशक प्रेमनारायण भुसाललाई अभिनन्दन गरेको छ।
साउन १९ गतेदेखि चार दिनसम्म मञ्चन गरिएको नाटक पहिलो दुई दिन विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीका लागि प्रदर्शन गरिएको थियो। तेस्रो दिन काठमाडौँ उपत्यकाका १४ विद्यालयका करिब ४५० विद्यार्थी तथा शिक्षक–शिक्षिकाले नाटक अवलोकन गरेका थिए। अन्तिम दिन विद्यालयका अभिभावक, साहित्य अनुरागी तथा आमन्त्रित दर्शकका लागि प्रदर्शन गरिएको विद्यालयले जनाएको छ।
विद्यालयका अनुसार नाटक अवलोकन गरेका विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा साहित्य अनुरागीले यसको विषयवस्तु समसामयिक र सान्दर्भिक रहेको प्रतिक्रिया दिएका छन्। बालबालिकाको मनोविज्ञान, अभिभावकीय भूमिका, आर्थिक असमानता र सामाजिक सम्बन्धका जटिलतालाई नाटकले संवेदनशील ढङ्गले प्रस्तुत गरेको उनीहरूको भनाइ थियो।
नाटककार भुसालको लेखन तथा मुख्य निर्देशनमा तयार भएको ‘फलामे गेट’मा विद्यालयको नेपाली विभागले सहनिर्देशन गरेको थियो। मनोविज्ञानका विषयमा समेत लामो समयदेखि लेख्दै आएका भुसालले नाटकमा बालमनोविज्ञान र अभिभावकीय भूमिकालाई केन्द्रमा राखेका छन्।
नाटकले बालबालिकाको जीवनमा भौतिक सम्पन्नता र सुविधाभन्दा असल संस्कार, शिक्षा, आचरण, आत्मीयता र मानवीय सम्बन्धको महत्त्व बढी हुने सन्देश दिन खोजेको छ।
नाटकको कथावस्तु बाल्यावस्थाका निश्छल खेल र बालसुलभ व्यवहारबाट सुरु भएर वर्गीय दूरी, आर्थिक असमानता, पारिवारिक सम्बन्ध तथा बालमनोविज्ञानका विभिन्न पक्षतर्फ अघि बढ्छ। भौतिक सम्पन्नताको प्रदर्शनले बालबालिकाको मनोविज्ञानमा पार्न सक्ने प्रभावलाई पनि नाटकले उठाएको छ।
ठूलो फलामे गेटभित्रको सम्पन्न संसार र त्यसबाहिरको सामाजिक यथार्थबीचको दूरीलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै नाटकले बालबालिकाप्रतिको अभिभावक र समाजको दृष्टिकोणमाथि प्रश्न उठाएको छ।
नाटक अवलोकन गरेका शिक्षक तथा अभिभावकले बालबालिकालाई महँगा वस्तु र सुविधा उपलब्ध गराउनु मात्रै अभिभावकीय दायित्व नहुने भन्दै असल संस्कार, नैतिक शिक्षा, मानवीय संवेदना र सही आचरण सिकाउनु उत्तिकै आवश्यक रहेको प्रतिक्रिया दिएका थिए।
उपत्यकाका विभिन्न विद्यालयबाट नाटक हेर्न पुगेका विद्यार्थी तथा शिक्षकले पनि विद्यालयमा हुने यस्ता सिर्जनात्मक गतिविधिले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै जीवन र समाजका व्यावहारिक पक्ष बुझ्न सहयोग पुग्ने बताएका थिए।
नाटकको प्रस्तुतिमा विद्यालयका विद्यार्थी कलाकार, सहायक कलाकार तथा कोरसको सहभागिता थियो। विद्यालयीय रङ्गमञ्चमा तयार गरिएको भए पनि विषयवस्तु, मञ्च संरचना, अभिनय र प्रयोगका दृष्टिले नाटकले दर्शकको ध्यान खिचेको आयोजकले जनाएको छ।
नाटकको समापन अवसरमा विद्यालयले नाटककार भुसालको साहित्यिक तथा सिर्जनात्मक योगदानको प्रशंसा गर्दै अभिनन्दनपत्र प्रदान गरेको थियो। विद्यालयले नेपाली साहित्य, शिक्षा, मनोविज्ञान तथा रङ्गमञ्चका क्षेत्रमा उनले पुर्याएको योगदानको प्रशंसा गरेको छ।
भुसालले विद्यालयीय परिवेशमा सामाजिक सरोकारका विषयलाई नाट्य माध्यमबाट प्रस्तुत गर्दा विद्यार्थीमा सिर्जनात्मकता, संवेदना र सामाजिक चेतना विकास गर्न सहयोग पुग्ने बताए।
कार्यक्रममा ‘फलामे गेट’लाई विद्यालयमा मात्र सीमित नराखी देशका अन्य भूभाग तथा विभिन्न वर्ग र समुदायका दर्शकमाझ पुर्याउनुपर्ने धारणा पनि व्यक्त भएको छ।
नाटकलाई विभिन्न स्थानमा प्रदर्शन गर्न सके बालबालिकालाई भौतिक सुविधा र धनसम्पत्तिसँगै असल संस्कार, शिक्षा र आचरण दिनुपर्ने सन्देश थप व्यापक बनाउन सकिने आयोजकको विश्वास छ।
विद्यालयले सामाजिक यथार्थ, बालमनोविज्ञान र अभिभावकीय जिम्मेवारीजस्ता विषयलाई कलात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्यले नाटक मञ्चन गरिएको जनाएको छ। चार दिनको प्रदर्शनमा प्राप्त प्रतिक्रियाले विद्यालयीय रङ्गमञ्चलाई सिर्जनात्मक शिक्षाको माध्यमका रूपमा अगाडि बढाउन थप प्रेरणा मिलेको विद्यालयको भनाइ छ।






