काठमाडौँ । नेपाली काँग्रेसका सांसद प्रकाशसिंह कार्कीले फरक प्रकृति, जिम्मेवारी र कानुनी हैसियत भएका नेपाल इन्टरमोडल यातायात विकास समिति तथा नेपाल ट्रान्जिट एन्ड वेयरहाउस कम्पनी लिमिटेडलाई एकीकृत गर्ने सरकारको निर्णय पुनरावलोकन गर्न माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कार्कीले दुवै संस्थाको स्थापना, कार्यक्षेत्र र सञ्चालनको आधार नै अलग रहेकाले एउटै संरचनामा समेट्ने निर्णय उपयुक्त नहुने धारणा राखेका हुन्।
उनका अनुसार नेपाल इन्टरमोडल यातायात विकास समिति विश्व बैंकको प्राविधिक अध्ययनका आधारमा मुलुकको इन्टरमोडल यातायात प्रणाली विकास गर्ने उद्देश्यले स्थापित विशिष्टीकृत वैधानिक निकाय हो। नेपाल ट्रान्जिट एन्ड वेयरहाउस कम्पनी भने सरकारको पूर्ण स्वामित्वमा सञ्चालित व्यावसायिक संस्था रहेको उनले बताए।
कार्कीले कम्पनीको व्यवस्थापकीय वा व्यावसायिक क्षेत्रमा समस्या देखिएको भए त्यसको संस्थागत सुधार र क्षमता अभिवृद्धिमार्फत समाधान खोजिनुपर्ने बताए। त्यस्तो समस्या समाधानका नाममा विशिष्टीकृत निकायको अस्तित्व नै समाप्त हुने गरी एकीकरण गर्न नहुने उनको तर्क छ।
सरकारले सरोकारवालासँग पर्याप्त छलफल र आवश्यक अध्ययनबिनै दुई संस्था समेट्ने प्रक्रिया अघि बढाएको भन्दै कार्कीले निर्णयको आधारबारे प्रश्नसमेत उठाए। उनले यसमा कुनै व्यक्तिको स्वार्थ जोडिएको भए त्यसबारे स्पष्ट हुनुपर्ने धारणा राख्दै प्रस्तावित एकीकरण तत्काल रोक्न आग्रह गरे।
उनले दुवै संस्थाको कानुनी, प्राविधिक तथा आर्थिक अवस्थाबारे स्वतन्त्र अध्ययन गराएर सम्बन्धित पक्षसँग परामर्श गरेपछि मात्रै आवश्यक निर्णय लिन सरकारलाई सुझाव दिएका छन्।
कार्कीले नेपाल इन्टरमोडल यातायात विकास समितिलाई मुलुकको विशिष्टीकृत इन्टरमोडल यातायात विकास प्राधिकरणका रूपमा थप सुदृढ गर्नुपर्ने र नेपाल ट्रान्जिट एन्ड वेयरहाउस कम्पनीलाई व्यावसायिक सुधारमार्फत सक्षम संस्थाका रूपमा विकास गर्नुपर्ने बताएका छन्।






