काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ। घटनाको निष्पक्ष छानबिनदेखि मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने र परिवारका एक योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन पहल गर्नेसम्मका विषयमा सहमति जुटेको हो।
देवानगञ्ज गाउँपालिका-३ मा साउन १० गते भएको घटनामा मेहताको मृत्यु भएको थियो। घटनाको छ दिनपछि सोमबार उनका अभिभावक र गृहमन्त्री सुधन गुरुङबीच सातबुँदे सहमति भएको हो।
सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया सरकारले तत्काल अघि बढाउनेछ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषी देखिएकामाथि प्रचलित कानुनअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने विषय पनि सहमतिमा समेटिएको छ।
देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा त्यससँग सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गर्ने सहमति भएको छ।
घटनाको अध्ययनका लागि गठित छानबिन समितिले बुझाउने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई प्रचलित कानुनबमोजिम कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमतिमा उल्लेख छ।
त्यस्तै, मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारी उपलब्ध गराउन सरकारले आवश्यक पहल गर्ने भएको छ।
सहमतिसँगै काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा छ दिनदेखि राखिएको मेहताको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत सुनसरीको देवानगञ्ज गाउँपालिका-३ लैजाने व्यवस्था सरकारले गर्ने भएको छ। त्यसपछि मृतकको दाहसंस्कार गरिनेछ।
घटनामा मृत्यु भएका तीन जनाको स्मृतिमा गाउँपालिकाको उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमतिसमेत भएको छ। स्थानीय सरकारसँग समन्वय गरी चालु वर्षमै त्यसका लागि बजेट विनियोजन गर्ने सहमतिमा उल्लेख छ।
सातबुँदे सहमतिसँगै घटनाको छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडित परिवारसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन प्रक्रिया अघि बढ्ने भएको छ।






