काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटी युवाको सहकार्यमा राज्यको भविष्य निर्माण गर्नुपर्ने धारणा राखेका छन् ।
आज प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले अन्तर्राष्ट्रिय युवा दिवसको विषयमा विचार राखेका थिए। यसै सन्दर्भमा उनले जेन जेड आन्दोलनको पृष्ठभूमि युवा भएको स्मरण गर्दै नेपालको बदलिँदो भविष्यका लागि युवा अपरिहार्य रहेको बताए।
उनका अनुसार करिब ४३ प्रतिशत जनसङ्ख्या रहेको युवाका मुद्दालाई राजनीतिकको मूलधारमा ल्याउनु आवश्यक रहेको बताए। उनले सदनमा भने, “आजको युवा पुस्ताले केवल मतदान गरेर मात्रै होइन, पुरानो राजनीतिक संस्कृतिमाथि प्रश्न उठाएर परिवर्तनको ढोका खोलेको छ ।”
मुख्य सचेतक बुर्लाकोटीले युवाको समस्या बेरोजगारी मात्रै नभई लागुऔषध, मानसिक स्वास्थ्य, तनाव परामर्शको अभाव, निराशा र भविष्यप्रतिको अनिश्चिततालगायत रहेको बताए । यी समस्याको समाधान गर्न आफ्नो पार्टी संवेदनशील रहेको बताए ।






