काठमाडौँ । उत्तर-पूर्वी इस्टोनियास्थित एउटा खानीको फोहोर थुपारिएको डाँडामा पुराना तथा कवाडी गाडीहरूको अनौठो र रोमाञ्चक मोटरस्पोट्र्स सम्पन्न भएको छ।
स्थानीय भाषामा ‘रोमुराल्ली’ (स्क्र्याप-कार र्याली) भनिने यस प्रतियोगितामा इन्जिनको चर्को गर्जन र गाडीहरू एकापसमा ठोक्किँदा निस्किएको आवाजबीच ७० वटा पुराना सवारीसाधनले प्रतिष्पर्धा गरेका छन् । इस्टोनिया एलामुस्पार्क (अनुभव पार्क) को ६०० मिटर लामो ट्रयाकमा आयोजित यस र्यालीले परम्परागत रेसिङ र साहसिक स्टन्टलाई एकसाथ प्रस्तुत गरेको थियो ।
फोहोर ढुङ्गा-माटोको डाँडामा तयार पारिएको घुमाउरो ट्रयाकमा पुराना गाडीहरूले पाङ्ग्रासँग पाङ्ग्रा जुधाउँदै रोमाञ्चक प्रतिस्पर्धा गरेका हुन् । सहभागी हुनका लागि आयोजकले कडा प्राविधिक नियमहरू निर्धारण गरेका थिए । दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै सबै कारका बत्ती, ऐना र अधिकांश सिसा अनिवार्य रूपमा हटाइएको थियो । गाडीको बडी वा च्यासिसलाई थप बलियो बनाउन प्रतिबन्ध लगाइएको भए पनि प्रभावकारी ब्रेक, सिट बेल्ट र अग्निनियन्त्रक उपकरण (फायर एक्स्टिंग्विसर) भने अनिवार्य गरिएको थियो ।
प्रतियोगिताप्रति दर्शक र चालकहरूको उत्साह यति उच्च थियो कि शुरुवाती ६० वटा कोटा तत्काल भरिएपछि आयोजकले थप १० वटा कोटा थप्नुपरेको थियो । प्रतिस्पर्धामा उत्रिएका कतिपय चालकको मुख्य लक्ष्य सबैभन्दा धेरै ल्याप (फन्को) पूरा गर्नु थियो भने कतिपयका लागि अन्य गाडीलाई ठक्कर दिनु नै मुख्य आकर्षण बनेको थियो । चालक आर्तुर स्मिर्नोभले ल्याप पूरा गर्नुभन्दा गाडी ठोक्काउनुमा बढी मज्जा आउने बताए । गाडीहरू एकापसमा जुध्दा पनि क्षतिग्रस्त सवारीलाई ट्रयाकमा निरन्तर कुदाइराख्नु चालकहरूका लागि अर्को ठूलो चुनौती थियो । अन्तिम चरणको प्रतिस्पर्धामा सबै चालु अवस्थाका गाडीहरू प्रवेश गरेका थिए ।
बराबर ल्याप पूरा गर्ने प्रतिस्पर्धीहरूको हकमा समय गणना गरी अन्तिम नतिजा निकालिएको थियो । ट्रयाक बाहिर डाँडाबाट गाडीलाई तल गुल्ट्याएर देखाइएको ‘कार बलिङ’ स्टन्टले दर्शकहरूलाई थप मनोरञ्जन दिएको थियो। कवाडीमा परिणत हुन लागेका पुराना गाडीहरूलाई सार्वजनिक रूपमा प्रदर्शन गर्ने यो इभेन्ट दर्शक र खेलाडी दुवैका लागि आकर्षक बनेको छ । रासस



