काठमाडौँ । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा बसले पार्किङ गरी राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिबार बिहान करिब ८:२५ बजे बागमती प्रदेश ०८–१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखिएको बागमती प्रदेश ३–००१ ज ११७६ नम्बरको खाली विद्युतीय माइक्रो भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि बस र माइक्रो भ्यान सडकबाट करिब ३० देखि ४० मिटर तल भिरमा खसेका थिए।
दुर्घटनामा घाइते भएका पाँचै जनालाई उपचारका लागि काठमाडौँस्थित ग्रिनसिटी अस्पताल ल्याइएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका हुन्।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ की करिब ५४ वर्षीया कृष्णमाया प्रजापति डंगोल र रामेछापको खाँडादेवी गाउँपालिका–२ की करिब ६५ वर्षीया उदयमाया खत्री रहेका छन्।
दुर्घटनामा सर्लाहीको लालबन्दी नगरपालिका–९ घर भई हाल काठमाडौँको काँडाघारी बस्ने २५ वर्षीया सुजाता पोखरेल, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० की ४२ वर्षीया शर्मिला श्रेष्ठ र दोलखाको मेलुङ गाउँपालिका–६ घर भई हाल काँडाघारी बस्ने ६० वर्षीया ज्ञानु श्रेष्ठ घाइते भएका छन्।
तीनै जनाको अवस्था मध्यम रहेको र ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको जनाइएको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।






