काठमाडौँ । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका पाँच स्थानबाट ग्यास विक्री वितरण शुरु गरेको छ ।
नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा शनिवारदेखि पाँच वटा स्थानमा ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो । टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट वितरण भइरहेको छ । विक्री केन्द्रअनुसार फरक–फरक ब्राण्डका ग्यास उपलब्ध गराएको निगमले जनाएको छ ।

निगमले तोकेका स्थानमा ग्यास लिन बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ । नेपाल आयल निगमका कर्मचारी भीमप्रसाद पौडेलकाअनुसार बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन एक हजारभन्दा बढी उपभोक्ता पुगेका छन् । बिहानदेखि ठूलो संख्यामा उपभोक्ता लाइनमा रहेको उनले जानकारी दिए । निगमले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण गर्ने योजना बनाएको छ । बबरमहल केन्द्रबाट काठमाडौँका जुनसुकै क्षेत्रका उपभोक्ताले ग्यास लिन सक्ने व्यवस्था गरिएको छ ।

बबरमहल केन्द्रमा करिब १० प्रकारका ग्यास सिलिण्डर उपलब्ध रहेको पौडेलले जानकारी दिए । निगमले अहिलेको ग्यास संकटका कारण ग्यास डिपोहरुसंगको समन्वयमा ग्यास वितरण गर्न सहजीकरण गरेको उनको भनाई छ । ग्यासको कालोबजारी तथा अनावश्यक भण्डारणविरुद्ध अनुगमन तीव्र पारिएको निगमले जनाएको छ । ग्यास लुकाउने, अनावश्यक रूपमा भण्डारण गर्ने तथा कालोबजारी गर्नेहरूलाई कानुनी दायरामा ल्याउने गरी अनुगमन भइरहेको पौडेलले बताए ।

निगमले विभिन्न स्थानबाट ग्यास वितरण गरे पनि सर्वसाधारणले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् । बबरमहलमा ग्यास लिन बसेको सेवाग्राहीहरूले लामो समयसम्म लाइन बस्दा पनि ग्यास नपाएको गुनासो गरेका छन् । लाइनमा बसेर ग्यास लिने पालो आए पनि वितरण गर्ने ठाउँमा नै ग्यास नहुँदा कुरेर बस्न बाध्य भएको उनीहरूको भनाई छ । यद्यपि ग्यास आउने आशामा आफूहरू दिनभर कुरेर बसेको उपभोक्ता बताउँछन् ।

निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ । ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्नेछ ।









