काठमाडौँ । मुस्ताङमा भन्सार यार्डमा जाँच नगरी सिल लगाएर ल्याइएका आठ वटा शंकास्पद कन्टेनरसहित चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले शनिबार दिउँसो घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक चेकपोष्टमा कन्टेनरका कागजपत्र जाँच तथा चालकसँग सोधपुछ गरेको थियो।
अवैध वस्तु ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा गरिएको जाँचका क्रममा कन्टेनरहरू भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने आशंका भएपछि आठ वटै कन्टेनरसहित चालकलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका चालकहरूमा धादिङ धार्केका ३० वर्षीय ईश्वर थापा, दोलखा शैलुङका ४३ वर्षीय रत्नबहादुर तामाङ, दोलखा भीमेश्वरका २९ वर्षीय उद्धव बस्नेत, पाल्पा तानसेनका ३६ वर्षीय धर्मबहादुर नेपाली, सिन्धुपाल्चोक भोटेकोशीका ३५ वर्षीय कर्म शेर्पा, सिन्धुपाल्चोक जुगलका ३३ वर्षीय निरोज नेपाली, काभ्रेपलाञ्चोक पाँचखालका २३ वर्षीय विशाल तामाङ र सिन्धुपाल्चोक भोटेकोशीका ३६ वर्षीय गोपाल श्रेष्ठ रहेका छन्।
नियन्त्रणमा लिइएका कन्टेनरहरूमा ना.६ ख ४७४१, को.१ ख ५६९६, बा.प्र.०१००६ ख २२४८, बा.प्र.०१००६ ख ६२७३, ना.३ ख ७१६०, ना.६ ख २०२२, बा.प्र.०१००६ ख ६६११ र बा.प्र.०१–००५ ख २२४५ नम्बरका छन्।
आठ वटै कन्टेनर र चालकलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहर भवन, ललितपुर पठाएको प्रहरीले जनाएको छ । कन्टेनरभित्र के–कस्ता वस्तु रहेको भन्नेबारे राजस्व अनुसन्धान कार्यालयले थप जाँच गर्ने जनाइएको छ।






