३१ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज

अ+ अ-

कञ्चनपुर । छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले दाजुभाइ तथा भतिजाहरूको दीर्घायुको लागि व्रत बसेर तिज पर्व उल्लासहका साथ मनाएका छन् ।

कैलाली र कञ्चनपुरमा बसोबास गर्ने रानाथारू समुदायको प्रमुख पर्व तिज पृथक तरिकाले मनाउने गरेका छन् । अन्य समुदायले तिज पर्व भाद्र शुक्ल तृतीयाका दिन मनाउने प्रचलन रहिआएको भए पनि रानाथारू समुदायले श्रावण शुक्ल तृतीयाका दिन तिज मनाउने प्रचलन रहिआएको छ । राना समुदायमा तिज पर्व आउन १५ दिन अगावै दिदीबहिनीको घरमा गएर निम्ता दिने प्रचलन छ । 

पन्ध्र दिनअघि नै गाउँमा सावनकी डोला अर्थात् पिङ हाल्ने प्रचलन रहिआएको रानाथारू समुदायका जानकार भीमदत्त नगरपालिका–१४ का पर्शुराम रानाले जानकारी दिए । उनका अनुसार तिजका दिन व्रतालु महिलाहरूले रानाथारू समुदायका विभिन्न परिकार पुरी, पापड, सेमइ, पकौडा, गुलगलालगायतका विशेष परिकार पकाएर चेलीबेटीसँगै छिमेकी र आफन्तलाई समेत खुवाउने गरेको बताए । 

रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व तिजमा दाजुभाइको दीर्घायु, सुख, समृद्धि र प्रगतिको कामना गर्दै व्रत बस्ने गरेको कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ नयाँ बस्तीका केशमती रानाले बताए । “तिजमा हामीहरू पानीसमेत नखाएर निराहार व्रत बस्छौँ, साँझपख कुसको गाँठो पारेर त्यसलाई चाँदीको सिक्काले काटेर नदीमा बगाउँछौँ”, रानाले भने, “जसरी नदीको लामो भार हुन्छ त्यति नै लामो आयु हाम्रो दाई भाइको होस् भनेर कामना गर्छौँ ।” उनका अनुसार नदीमा कुस बगेर जति तलसम्म जाने गर्दछ, दाई भाइको आयु त्यति नै लामो हुने गरेको धार्मिक विश्वास छ ।

तिजमा विवाहित महिलाहरूसमेत यति बेला माइतमा आएर रमाइलो गर्ने गरेका छन् । रानाथारू समुदायको महिलाले आआफ्नो माइतमा बसेर व्रत बसी तिज पर्व मनाउनुका साथै दाजुभाइ र भतिजाहरूको दीर्घायुको कामना गर्दै पिङ खेलेर रमाइलो गर्ने गरेको भीमदत्त नगरपालिका–१६ का सोमन राना बताउँछन् । “साउन महिनाको सुरुमा गाउँमा पिङ राखेर रमाइलो गर्छौँ, तिजको दिन दाजुभाइको दीर्घायुका लागि व्रत बस्ने गर्दछौँ”, उनले भने, “यस अवसरमा आफन्तलाई घरमा बोलाएर विभिन्न परिकार खुवाउने चलन छ ।” 

यस पर्वलाई खेतीपातीको काम सकिएपछि थकाइ मेटाउने पर्वका रूपमा समेत मनाउने गरिएको रानाथारू समुदायका जानकारहरू बताउँछन् । साउनभर मनाउने सावनकी डोला पर्वको क्रममा तिज मनाउँछन् । सावनकी डोला (पिङ(मा काठका खम्बाबाट बनाइन्छ, तर पछिल्लो समय जंगलबाट काठ ल्याउन प्रतिबन्ध भएपछि पिङ अर्थात् साउनको डोला राख्न निकै सकस हुने गरेको भीमदत्त नगरपालिका–१४ का स्थानीय वसन्ती रानाले बताए ।

“अहिले दुई वटा खम्बा फलामका बनाएर पिङ (साउनको डोला) निर्माण गरेका छौँ”, रानाले भने, “काठको खम्बासँगै आवश्यक रस्सी जीर्ण हुँदै गएको छ हामीले निकुञ्जसँग माग गरिराखेका छौँ ।” छुट्टै पहिचान र मौलिक संस्कृति रहेको यो समुदायमा तिज पर्व पछिल्लो समय नयाँ पुस्ताको समेत रोजाइमा पर्न थालेको उनी बताउँछन् ।

0 Comments