साउनको अन्तिमतिर आइपुग्नै लाग्दा मनमा तीजको लर्को लाग्न थालिसकेको छ। साउन सकिनै लाग्दा बजार राता, हरिया, पहेँला सारीहरूले झकिझकाउ छन्। त्यसमाथि झन् अहिले सामाजिक सञ्जालभरि छ्यापछ्याप्ती सारी, गहना, चुरापोते र शृङ्गारका सामग्रीका विज्ञापनले भरिभराउ छन्। तीजका गीतहरूले सामाजिक सञ्जाल रङ्गीन बनाउन थालेका छन्।
सायद तपाईंहरूको मनको ढोकामा पनि तीजको लहरले ढकढकाउन पुगिसकेको होला। मनमा प्रश्न आउन थालिसकेका होलान्-यो वर्ष कस्तो सारी किन्ने? कस्तो डिजाइनको चुरापोते किन्ने? दर खान कति ठाउँमा जाने? श्रीमान्ले यसपालि तीजमा के उपहार दिनुहुन्छ होला? यस्तै–यस्तै प्रश्नले मनमा ठाउँ बनाइरहेको होला। कतिले त अझ श्रीमान्लाई आफ्नो उपहारका लागि घुर्की पनि लगाइसक्नुभएको होला।
तर, प्रिय चेलीहरू! यसपालिको तीजका लागि सपिङ सुरु गर्नुअघि एकपटक आफ्नो लुगा राख्ने दराज वा बाकस खोलेर हेर्नुहोस् त। तपाईंहरूलाई तीजमा नयाँ सारी, चुरापोते र नयाँ शृङ्गारका सामग्री किन्नुपर्ने आवश्यकता छ कि त्यो तपाईंको मनको रहर मात्रै हो? यदि आवश्यकता हो भने पक्कै पनि आफ्नो क्षमताअनुसारको सामान किन्नुहोस्। तर, यदि यो तपाईंहरूको रहर मात्रै हो भने यसपालि तीजका लागि तपाईंले छुट्याएको रकमबाट आफ्नो पूर्ण शारीरिक जाँच गराउनुहोस्, जसले तपाईंहरूलाई आफ्नो शारीरिक अवस्था बुझ्न मद्दत गर्नेछ। यसमा कम पर्ने रकम परिवारसँग सहयोग लिन सक्नुहुन्छ।
आफूलाई सिक्न मन लागेको कुनै सीप सिक्न सक्नुहुन्छ, जसले तपाईंहरूलाई जीवनभर साथ दिनेछ। वा, आफ्नै एउटा सानो लगानी कोष बनाउन सक्नुहुन्छ, जसले तपाईंका त्यस्ता चाहना पूरा गर्न सघाउनेछ, जुन तपाईंहरूले अहिले ‘पहिले परिवारको आवश्यकता पूरा होस्, आफ्नो पछि गरौँला’ भनेर लुकाउँदै आउनुभएको छ। त्यसैले यसपालिको तीजमा एउटा प्रण गरौँ-अनावश्यक तडकभडकभन्दा आफ्नो स्वास्थ्य, सीप, ज्ञान र आर्थिक सुरक्षाका लागि पहिले केही रकम छुट्याऔँ, जसले विपद् पर्दा तपाईंहरूलाई आत्मनिर्भर र आत्मविश्वासी बनाओस्।
तीजको नाममा पछिल्ला केही वर्षदेखि देखिन थालेको भड्किलो खालको प्रवृत्तिका बारेमा पनि हामीले गहिरिएर सोच्नुपर्ने बेला आएको छ। तीजको नाममा महिनादिनअघिदेखि ठूलो–ठूलो आवाजमा गीत घन्काएर बस्ने र त्यसको असर आफ्ना छरछिमेकका मानिसमा कस्तो पर्दैछ भन्ने पनि नबुझिदिने, महिनौँअघिदेखि श्रीमान्सँग उपहारका लागि जिद्दी गर्ने, दर खाने र रमाइलो गर्ने नाममा घरपरिवारलाई पूरै नजरअन्दाज गरिदिने, साथीसङ्गीसँग होटल र पार्टी प्यालेसहरूमा रमाइलो गर्ने नाममा आफ्नो आर्थिक क्षमताभन्दा बाहिर गएर खर्च गर्ने, अरूसँग आफूलाई तुलना गरेर त्यसैलाई लिएर परिवारमा तनाव सिर्जना गर्नु-के यो उचित हो?
प्रिय चेलीहरू, तीजसँग जोडिएको एउटा साथीको गुनासोले मलाई घरिघरि सोच्न बाध्य बनाउँछ। गत वर्ष साथीले सुनाइन्, “मैले श्रीमान्का लागि निर्जला व्रत बसेँ, तर मलाई श्रीमान्ले केही उपहार नै दिनुभएन र मलाई तीज खल्लो भयो।”
के यो सौदाबाजी हो र? मैले तिम्रो लागि यो गरेँ, तिमी मलाई बदलामा यो देऊ! फेरि अहिले त धेरै चेलीहरू आर्थिक रूपमा सक्षम छन्, आफूलाई मन लागेको कुरा किन्न सक्छन्। के श्रीमान्लाई उपहारका लागि दबाब दिनु जायज हो र? हो, श्रीमान्बाट उपहार पाउँदा छुट्टै खुसी मिल्छ। तर, उपहार नपाएकै कारण आफ्नो सम्बन्ध बिगार्नु कतिको उचित हो? आफैँलाई सोधौँ त एकचोटि!
र, यसरी श्रीमान्लाई महँगो सारी, गरगहना किन्न दबाब दिएर कैयौँ पुरुषहरू श्रीमतीको अस्वाभाविक र भड्किलो माग पूरा गर्न नसकी डिप्रेसनमा समेत गएको बेलामौकामा समाजमा सुन्न पाइन्छ। यति भन्दै गर्दा मैले एउटा तीजकै गीत सम्झिन पुगेँ-“बेलै माथि घर आउँछन् बाहिर पनि जाँदैनन्, मेरा त बुढाले रक्सी खाँदैनन् …”
गीतका शब्द साधारण छन्, तर तिनमा कति गहिरो भाव लुकेको छ! श्रीमान् समयमै घर आउनु, परिवारसँग समय बिताउनु, नराम्रो बानीबाट टाढा रहनु, श्रीमतीलाई माया र सम्मान दिनु-के यो श्रीमान्बाट श्रीमतीले पाउने बहुमूल्य उपहार होइन र? के यसलाई बजारका कृत्रिम कुराले प्रतिस्थापन गर्न सक्छ र? फगत भौतिक गरगहना र सारीहरूलाई मात्र उपहार सम्झिनु भूल हो!
समाजलाई आदर्श तथा सदाचारयुक्त बनाउन त सादा जीवन, उच्च विचारको आदर्शलाई अङ्गीकार गरी भाइचारा र सामाजिक सद्भाव बढाई भड्किलो र विलासितापूर्ण शैलीलाई निरुत्साहित गर्नु हो।
हाम्रो समाजमा एउटा भनाइ छ, “घाँटी हेरी हाड निल्नु।” पक्कै पनि हामीले तीज मात्र होइन, जुनसुकै चाडपर्व मनाउँदा पनि आफ्नो आर्थिक हैसियतअनुसार मनाउँदा त्यसले घरपरिवारमा सुख र शान्ति ल्याउँछ। नत्र अरूको देखासिकी गरेर अनावश्यक होडबाजी गरी चाडपर्व मनाएमा क्षणिक रूपमा त खुसी मिल्छ होला, तर कालान्तरमा मन पोल्छ। ऋण निकालेर भड्किलो गरी चाडपर्व मनाउनु अनुत्पादक हुन्छ र त्यसले असल परिणाम दिँदैन।
प्रिय चेलीहरू,
तीज माया र विश्वासको पर्व हो! पारिवारिक पुनर्मिलन र सुख–दुःख साट्ने पर्व हो! भाइचारा र आत्मीयता प्रवर्द्धनको पर्व हो! समर्पण र सामाजिक सद्भावको पर्व हो!
जसरी माता पार्वतीले कठोर तपस्या गरी भोलेनाथ स्वामी पाउनुभयो भन्ने किंवदन्ती छ, त्यसैगरी हामी धेरैको जीवनमा हाम्रा स्वामी आइसक्नुभएको छ र कतिपयको जीवनमा आउन बाँकी होलान्। तीजको पुण्य अवसरमा कतिपयले आफ्नो सौभाग्य दीर्घायु रहोस् भनेर व्रत बस्नुहुन्छ भने कसैले राम्रो स्वामी पाऊँ भनी व्रत बस्नुहुन्छ। जसले जुन कारणले व्रत बसे पनि परिवारमा सुख-शान्ति भए मन खुसी हुन्छ र व्रत सफल हुन्छ।
त्यसैले, वर्षदिनमा आउने यो पर्व घर, परिवार र छरछिमेकमा उमङ्गका साथ मनाऔँ। पारिवारिक पुनर्मिलन गरी अगाध माया एवम् समर्पण भावले नाचौँ, गाऔँ, रमाऔँ। तर, रमाइलो गर्दा आफ्नो स्वास्थ्य र परिवारका साथै सामाजिक सद्भाव र मर्यादाको पनि ख्याल राखौँ।
हवस् त, यसपालिको तीजलाई भड्किलो बनाउने प्रतिस्पर्धाभन्दा वास्तविक प्रेम, समर्पण र खुसीको पर्व बनाऔँ! सबै जनालाई तीजको हार्दिक मङ्गलमय शुभकामना।






