काठमाडौँ । असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको बाढी–पहिरोले मनाङ जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ ।
मर्स्याङ्दी नदी र स्थानीय खोलामा आएको बाढीले दर्जनौँ घर बगाउनुका साथै सडक र सञ्चार सम्पर्क विच्छेद गराएको छ । विशेषगरी नार्पा भूमि गाउँपालिकामा पर्वतारोही दलका सदस्यहरू सम्पर्कविहीन भएपछि जिल्लाको अवस्था गम्भीर बनेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसद टेकबहादुर गुरुङले मनाङमा उत्पन्न विषम परिस्थितिबारे सदनलाई जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराए । बाढीले सदरमुकाम चामे र नासोँ गाउँपालिकाको ताल गाउँमा दर्जनौँ घरहरूमा क्षति पुर्याएको छ । चामे–खाङसार सडक खण्ड पूर्ण रूपमा बन्द हुँदा यातायात सेवा अवरुद्ध भएको छ भने विभिन्न स्थानका मोटरेबल पुलहरू बगेका छन् ।
सभामुखमार्फत सरकारसँग माग राख्दै सांसद गुरुङले नार्पा भूमिमा हिमलुङ हिमाल चढ्न गएका २७ जना नेपाली सहयोगीमध्ये २ जनाको मृत्यु भएको र १४ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिए । बाँकी ११ जना सम्पर्कमा आए पनि उद्धारको अवस्था जटिल बनेको छ । बाटोघाटो र पुलपुलेसा भत्किँदा सयौँ आन्तरिक तथा बाह्य पर्यटक मनाङका विभिन्न स्थानमा अलपत्र परेका छन् ।
वर्षा र हिमपातले हिमाली क्षेत्रको एक मात्र बाली नष्ट पारेपछि जिल्लामा खाद्य संकटको जोखिम बढेको छ । पर्यटन सिजनमै आएको यस विपत्तिले पर्यटन व्यवसायीहरूलाई समेत ठूलो आर्थिक नोक्सानी पुर्याएको छ । अवरुद्ध विद्युत् र टेलिफोन सेवा तत्काल सुचारु नहुँदा राहत र उद्धारको काममा कठिनाइ भइरहेको भन्दै सांसद गुरुङले तत्काल सरकारी टोली परिचालन गर्न माग गरे ।






