काठमाडौँ । सरकारले पहिरो प्रभावित जिल्लामा थप विपद्को जोखिम पहिचान गर्न प्रारम्भिक भौगर्भिक अध्ययन टोली परिचालन गर्ने भएको छ।
मनसुन प्रतिकार्य कमान्ड पोस्टको आइतबार बसेको बैठकले रोल्पाका थवाङ र सुनछहरी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका तथा जाजरकोटको भेरी नगरपालिका र आसपासका क्षेत्रमा प्राविधिक टोली पठाउने निर्णय गरेको हो। टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिलाई पनि सहभागी गराइनेछ।
लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा जमिन कमजोर हुने, पहिरो जाने र बस्ती थप जोखिममा पर्ने अवस्था देखिएपछि प्रभावित क्षेत्रको भौगर्भिक अवस्था अध्ययन गर्न लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता तथा सूचना अधिकारी शान्ति महतले जानकारी दिएकी छन्।
अध्ययनबाट पहिरोको जोखिम, जमिनको स्थायित्व र प्रभावित क्षेत्रको सम्भावित थप जोखिम पहिचान हुने अपेक्षा गरिएको छ। त्यसका आधारमा आवश्यक सुरक्षा तथा जोखिम व्यवस्थापनका उपाय तय गर्न सहयोग पुग्ने प्राधिकरणले जनाएको छ।
मनसुन सक्रिय रहेकाले पहाडी तथा हिमाली क्षेत्रमा निरन्तर वर्षासँगै पहिरोको जोखिम बढेको निष्कर्ष निकाल्दै कमान्ड पोस्टले सम्बन्धित निकायलाई पूर्वतयारी र प्रतिकार्य प्रभावकारी बनाउन निर्देशन दिएको छ।
मनसुनजन्य विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई भनिएको छ।
बैठकले अवरुद्ध सडक, खानेपानी र सिँचाइलगायत अत्यावश्यक पूर्वाधार मर्मत गरी तत्काल सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
नदी कटान तथा पहिरो नियन्त्रणका काम अघि बढाउनुका साथै प्रभावित परिवारलाई स्वास्थ्योपचार र मनोसामाजिक परामर्शलगायत सेवा उपलब्ध गराउन पनि निर्देशन दिइएको छ।






