काठमाडौँ । सुदूरपश्चिमका आज राति साधारणतया मौसम बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिमका हिमाली, क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यसैबीच सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनीले कैलाली र कञ्चनपुरका बाढी प्रभावित क्षेत्र तथा नदी तटीय क्षेत्रमा सतर्कताका लागि आग्रह गरेको छ । बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीले भारी वर्षको सम्भावना रहेकाले ती क्षेत्रमा सूचनामूलक माइकिङसमेत गरिएको जानकारी दिए ।
उनले पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावनालाई मध्यनजर गरी सूचना प्रवाह गर्नुका साथै आफ्नो मातहतका युनिटलाई विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा राखिएको बताए ।
सोमबार दिउँसो पनि सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान कार्यालयले जनाएको छ । सोमबार दिउँसो यहाँका हिमाली क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, पहाडी र तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यकता अपनाउन मौसम विज्ञान कार्यालय अत्तरियाले आग्रह गरेको छ ।






