काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीको जारी केन्द्रीय समिति बैठकमा आज आफ्नो धारणा प्रस्तुत गर्ने भएका छन्।
करिब एक सातादेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा चलिरहेको बैठकमा थापाले अपराह्न ४ बजे सम्बोधन गर्ने तयारी छ।
सभापति थापाको सम्बोधनलाई पार्टीभित्र पछिल्लो समय देखिएको आन्तरिक मतभेद र नेताहरूबीचको आरोप-प्रत्यारोपको सन्दर्भमा महत्वपूर्ण रूपमा हेरिएको छ। बैठकमा उनले पूर्वसभापति शेरबहादुर देउवा पक्षले हालै आयोजना गरेको भेलामा उठाइएका विषय र आफूविरुद्ध गरिएका टिप्पणीबारे समेत प्रतिक्रिया दिने काँग्रेस नेताहरूले बताएका छन्।
देउवा पक्षले आयोजना गरेको तीन दिने भेलापछि थापाले त्यसबारे आफ्नो धारणा सार्वजनिक रूपमा राख्ने संकेत गरेका थिए। अघिल्लो दिनको कार्यक्रममा उनले सानेपामा पत्रकार सम्मेलनमार्फत करिब एक घण्टा उक्त भेलाका विषयमा जवाफ दिने बताएका थिए।
पार्टीभित्रको पछिल्लो गतिविधिबारे टिप्पणी गर्दै थापाले देउवा पक्षको भेला चलेको अवधिमा आफू सबैभन्दा बढी आलोचनाको केन्द्रमा परेको बताएका थिए। आजको केन्द्रीय समिति बैठकमा उनको सम्बोधनमार्फत ती आलोचना र उठाइएका प्रश्नबारे थप स्पष्ट धारणा आउने अपेक्षा गरिएको छ।
काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीको समसामयिक अवस्था, आन्तरिक गतिविधि तथा आगामी राजनीतिक कार्यदिशासहित विभिन्न विषयमा छलफल भइरहेको छ। सभापति थापाको आजको सम्बोधनले पार्टीभित्र देखिएको पछिल्लो विवादबारे नेतृत्वको धारणा थप स्पष्ट गर्ने देखिएको छ।






