काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक तथा व्यवस्थापकीय अवस्था प्रत्यक्ष रूपमा बुझ्न स्थलगत अवलोकन सुरु गरेका छन्।
देशभरका सामुदायिक विद्यालयमा देखिएका समस्या र सुधारका आवश्यकता पहिचान गर्ने उद्देश्यले शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय अवलोकन अभियान थालेको हो। अभियानको सुरुवात काठमाडौँका चार सामुदायिक विद्यालयबाट गरिएको छ।
मन्त्री पोखरेलले बाल विकास आधारभूत विद्यालय, पञ्चकन्या माध्यमिक विद्यालय, आत्म विकास आधारभूत विद्यालय र श्री बुढानीलकण्ठ उच्च माध्यमिक विद्यालयको अवलोकन गरेका छन्।
अवलोकनका क्रममा मन्त्री पोखरेलले विद्यालय प्रशासन, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए। उनले विद्यालयको शैक्षिक अवस्था, पठनपाठन, व्यवस्थापन, भौतिक संरचना तथा विद्यार्थीले भोगिरहेका समस्या र आवश्यकताबारे जानकारी लिएका छन्।
विद्यालय सुधारका लागि गर्नुपर्ने पहल र मन्त्रालयबाट अपेक्षित सहयोगबारे पनि सरोकारवालासँग सुझाव लिइएको छ।
मन्त्री पोखरेलले स्थलगत अवलोकनबाट पहिचान भएका समस्या र सरोकारवालाबाट प्राप्त सुझावलाई नीतिगत रूपमा सम्बोधन गरिने बताएका छन्। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा विद्यार्थीमैत्री वातावरण निर्माणलाई मन्त्रालयले प्राथमिकतामा राख्ने उनको भनाइ छ।
मन्त्रालयका अनुसार विद्यालयको वास्तविक अवस्था पहिचान, समस्या समाधान र सम्बन्धित निकायबीच प्रभावकारी समन्वयका लागि अवलोकन अभियानलाई देशभर निरन्तरता दिइनेछ।






