काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले मानवीय सेवामा जिम्मेवार र कर्तव्यनिष्ठका साथ लाग्न सबैलाई अनुरोध गरेका छन् ।
विश्व मानवीय दिवसको अवसरमाराष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधवार ललितपुरमा गरेको कार्यक्रममा उनले मानवीय सहायता केवल संकटका बेला गरिने सहयोग मात्र नभई मानव-मानवबीचको साझा जिम्मेवारी र सेवा भावको अभिव्यक्ति भएको बताएका हुन्।
उनले मानवीय सहायता प्रभावकारी बनाउन संस्थागत प्रयाससँगै व्यक्तिगत सेवा भाव र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । पृथ्वी सबै मानवको साझा घरका भएकाले मानव जाति एउटै परिवारका सदस्य भएको उल्लेख गर्दे एक अर्काको दुःख-सुखमा साथ दिनुपर्नेमा जोड दिए ।
उनले देश, क्षेत्र, समुदाय, टोल र घरका आधारमा विभाजित हुन नहुने उल्लेख गरे । श्रेष्ठले मानवीय सहायता प्रदान गर्न विश्वव्यापी रूपमा संस्थागत संरचना विकास भएको र सेवा भाव भएका मानिसहरू विभिन्न क्षेत्रमा जोडिएर काम गरिरहेको प्रसंग उल्लेख गर्दे सामूहिक सेवाभावले नै मानिसलाई कठिन परिस्थितिलाई सहज बनाउन सहयोग गरिरहेको बताए ।
मानवीय सहायता वितरणका क्रममा सरकारी निकाय तथा गैरसरकारी संस्थामाथि गुनासो र आलोचना आउने गरेको स्मरण गर्दे गृह सचिव श्रेष्ठले सेवा भावबाट विचलित नभई काम गर्नुपर्नेमा जोड दिए । देख्ने व्यक्तिले फरक–फरक रूपमा मूल्यांकन गरे पनि आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्नुपर्नेमा उनले जोड दिए । उनले काम गर्दा प्रसंम्सा र आलोचना दुवै आउने भएकाले मातिने र आत्तिने गर्न नहुने बताए ।
उनले भने,‘सबै मानव एउटै जाति हौँ । हामी एकै जाति भएका कारणले एउटै परिवारका सदस्य हौँ भनेर लिँदा हुन्छ । हामी सबै सदस्यको एउटा साझा घर पृथ्वी हो । ‘जे भए पनि सँगै’ भनेको जुनसुकै बेला पनि हामी साथसाथै रहन्छौँ, सँगै रहन्छौँ अथवा सँगसँगै काम गर्छौँ भन्ने हो । दुःखमा पनि हामी सँगै हुन्छौँ र सुखमा पनि हामी सँगै हुन्छौँ । धेरै प्रशंसा गरेर हामी मात्तिनु पनि छैन । कसैले कम्प्लेन गर्यो अथवा गुनासो गर्यो भनेर आत्तिनु पनि छैन । हामी सहज रूपमा आफ्ना काममा निरन्तर अघि बढ्नुपर्ने हुन्छ । देख्नेले जेसुकै देखिरहोस्, हामी आफ्नो कर्तव्य पथमा लागिरहौँ । ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार ।’
किर्डाकका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले मानवीय सहायता प्रभावकारी बनाउन समुदाय र स्थानीय तहको सशक्तीकरणमा जोड दिनुपर्ने बताए ।
उनले भने, ‘यस वर्षको नाराले समुदायको सशक्तीकरण, साझेदारी र मानवीय कार्यमा सबैको सहभागितामा जोड दिएको छ । मानवीय सहायतामा खटिनेहरूलाई सम्मान गर्दै संकटमा परेका मानिसको जीवन र मर्यादाको संरक्षण, मानवीय कार्यको सुरक्षा तथा अन्तर्राष्ट्रिय मानवीय कानुनबारे जनचेतना बढाउनुपर्छ । आगामी दिनमा मानवीय सहायता अझ प्रभावकारी बनाउन स्थानीय तहलाई सशक्त र साधन–स्रोतयुक्त बनाउनेतर्फ हाम्रो ध्यान जानुपर्छ ।’
कार्यक्रममा मानवीयकार्यमा खटिएर उत्कृष्ट योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो । नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रका प्रहरी नायव निरीक्षक प्रेम साउद, सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन निर्देशनालयका सशस्त्र प्रहरी नायव उपरीक्षक कमलबहादुर अधिकारी, सामुदायिक विपद् व्यवस्थापन समिति रौतहटकी सदस्य रुपकलि देवी राम र कञ्चनपुर सुन्दर प्रकृति सामुदायिक विपद् व्यवस्थापन समितिकी सचिव कमला खड्कालाई सम्मान गरिएको हो ।






