काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा कार्यालय, लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपाने र आदर्श बाल माध्यमिक विद्यालय, लमजुङका शिक्षक नवराज केसीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप पत्र विशेष अदालत काठमाडौँमा दायर गरेको छ।
आयोगका अनुसार शिक्षक केसीले माध्यमिक तहको स्थायी शिक्षक बन्ने क्रममा आफू विस्थापित शिक्षक भएको झुटो विवरण पेस गरेका थिए। उक्त विवरणलाई तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी न्यौपानेले प्रमाणित तथा स्वीकृत गरेको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।
शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि प्रकाशित गरेको विज्ञापनमा आवेदन दिने शिक्षक विस्थापित वा अस्थायी रूपमा कार्यरत रहेको विवरण जिल्ला शिक्षा कार्यालयबाट प्रमाणित गर्नुपर्ने व्यवस्था थियो। तर केसीले आफू विस्थापित शिक्षक रहेको देखाउने गरी विवरण पेस गरेको र न्यौपानेले त्यसलाई स्वीकृत गरेको आयोगले जनाएको छ।
आयोगको अनुसन्धानअनुसार केसीले माध्यमिक तहको अस्थायी शिक्षकका रूपमा काम गरेका थिएनन्। बरु माध्यमिक तहका लागि शिक्षक सेवा आयोगको विज्ञापन प्रकाशित हुनुअघि नै उनले प्राथमिक तहको स्थायी शिक्षक पदमा नियुक्ति लिइसकेका थिए। त्यसपछि स्थायी प्राथमिक शिक्षक पदबाट राजीनामा दिएर आफूलाई विस्थापित शिक्षकका रूपमा प्रस्तुत गर्दै माध्यमिक तहको परीक्षामा सहभागी भएको आयोगको निष्कर्ष छ।
अनुसन्धानका क्रममा केसीले आफू विस्थापित शिक्षक नभएको र स्थायी शिक्षक बनेपछि राजीनामा दिएको तथ्य स्वीकार गरेको आयोगले जनाएको छ।
आयोगले केसीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अन्तर्गतको कसुरमा कैद तथा जरिवाना मागदाबी गरेको छ।
त्यस्तै, केसीले पेस गरेको झुटो विवरण स्वीकृत गरी मुख्य कसुरमा सहयोग गरेको भन्दै तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी न्यौपानेलाई मतियारका रूपमा प्रतिवादी बनाइएको छ। आयोगले उनीविरुद्ध मुख्य कसुरदारलाई हुने सजायलाई आधार मानी भ्रष्टाचार निवारण ऐनको दफा २२ बमोजिम सजाय हुनुपर्ने माग गरेको छ।






