काठमाडौँ । सुरक्षण मुद्रण प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनसम्बन्धी मोलमोलाइ भएको आरोपमा परेको उजुरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका निमित्त सचिव पद्मा मैनालीले आयोगको अनुसन्धानसम्बन्धी प्रगतिबारे जानकारी दिँदै उक्त प्रकरण अझै विस्तृत अनुसन्धानकै क्रममा रहेको बताएकी हुन्।
यस प्रकरणमा तत्कालीन सञ्चार मन्त्री गोकुल बास्कोटाको नाम जोडिएको छ। २०७६ फागुनमा सार्वजनिक भएको एउटा अडियोमा तत्कालीन मन्त्री बास्कोटा र सुरक्षण मुद्रण प्रेस स्थापनाका लागि स्वीस कम्पनीको नेपालस्थित प्रतिनिधिका रूपमा रहेका विजयप्रकाश मिश्रबीच प्रेस खरिदको लागत तथा कमिसनसम्बन्धी विषयमा कुराकानी भएको सार्वजनिक भएको थियो।
अडियो सार्वजनिक भएपछि बाँस्कोटाले सञ्चार मन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि उक्त विषयमा अख्तियारमा उजुरी परेको थियो र आयोगले अनुसन्धान अघि बढाएको थियो।
प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको लेनदेनका लागि मोलमोलाइ भएको आरोपलाई आधार बनाएर अनुसन्धान अघि बढाइएको हो।






