काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय निर्वाचनको तयारी, पार्टी संरचना व्यवस्थापन तथा आगामी कार्यक्रमलाई केन्द्रित गर्दै केन्द्रीय समिति बैठक सुरु गरेको छ ।
काठमाडौँको वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा संगठन सञ्चालनसँग सम्बन्धित विभिन्न विषयलाई कार्यसूचीमा राखेर छलफल भइरहेको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन् ।
बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा २०८३ लाई अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी अवधारणालाई दस्ताबेजका रूपमा अघि बढाउने विषयमा छलफल हुने बताइएको छ ।
संगठनात्मक पक्षतर्फ केन्द्रीय समिति, पदाधिकारी, सचिवालय तथा विभिन्न विभागका प्रमुखको मनोनयनसम्बन्धी प्रस्तावमाथि पनि बैठकले निर्णय लिनेछ । त्यसैगरी स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा त्यसका सदस्य मनोनयनबारे समेत छलफल हुने कार्यसूची रहेको छ ।
बैठकले पार्टीका आगामी योजना र अभियान सञ्चालनको ढाँचाबारे पनि समीक्षा गर्नेछ । केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा स्थानीय तह केन्द्रित उम्मेदवार छनोटसम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पनि छलफलका लागि राखिएको छ ।
त्यस्तै, पार्टीको वैचारिक तथा सांगठनिक गतिविधि सार्वजनिक गर्ने उद्देश्यले ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयलाई समेत बैठकको कार्यसूचीमा समेटिएको छ ।
समग्रमा बैठकमा पार्टीको आन्तरिक संरचना सुदृढीकरणसँगै स्थानीय निर्वाचन केन्द्रित तयारी, उम्मेदवार छनोट प्रक्रिया र संगठन विस्तारका विषयमा नीतिगत निर्णय गर्ने तयारी गरिएको छ ।






