काठमाडौँ । नेपाल पर्वतारोहण संघले आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउने प्रक्रिया अघि बढाएको जनाएको छ ।
सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष फुर गेल्जे शेर्पाले यस्तो जानकारी दिएका हुन्।
उनले थप ६ वटा हिमालको अन्तर्राष्ट्रिय मान्यताका लागि आवश्यक काम अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार यो प्रक्रिया सफल भए आठ हजार मिटरभन्दा अग्ला हिमालको संख्या २० पुग्ने । जसमध्ये आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल नेपालमै हुने उनको भनाइ छ । उनले नेपालको पर्वतीय पर्यटन विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै यसमा सरकार, पर्वतारोहणसम्बन्धी संघ-संस्था तथा सरोकारवालाको संयुक्त योगदान रहेको रहेको समेत बताए ।
अध्यक्ष शेर्पाले सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघबीच नङ र मासुको जस्तो सम्बन्ध रहेको बताउँदै नेपाल पर्वतारोहण संघ स्थापनाकालदेखि नै देशको पर्वतारोहण क्षेत्रको विकासमा सक्रिय रहेको बताए । नेपाल सरकारले जारी गर्ने हिमाल तथा चुचुरोको सूची तयार पार्न समेत नेपाल पर्वतारोहण संघको भूमिका रहेको उनले बताए ।
उनले भने, ‘नेपालको पर्वतीय पर्यटन विश्वको सबैभन्दा उत्कृष्ट गन्तव्यको रूपमा विकास भएको छ । र यो विकास हुनुमा हामी सबै जनाको उत्तिकै योगदान समेत रहेको छ । सगरमाथा आरोही संघ र नेपाल पर्वतारोहण संघबीचको सम्बन्ध नङ र मासुको जस्तै रहेको छ । नेपाल पर्वतारोहण संघ शुरुदेखि नै नेपाल पर्वतारोहणको विकासका लागि लागिपरेको छ । खास गरेर नेपाल सरकारले जारी गर्ने गरेको पीकको लिष्ट समेत नेपाल पर्वतारोहण संघले नै तयार पारेको हो । अहिले नेपाल सरकारको टेक्निकल कुरामा पनि हामी काम गरिरहेका छौँ । अहिले एक सय वटा हिमालको प्रस्तावना हामीले तयार पारिरहेका छौँ । त्यति मात्र नभएर अहिले हामी ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल रहेकोमा हामीले यस पटक थप ६ वटा हिमालको अन्तर्राष्ट्रिय रिकजनाइजेशनको लागि काम गरिरहेका छौँ । यससँगै आठ हजारभन्दा बढी २० वटा हिमाल हुनेछन् । यो कार्य सफल भएको खण्डमा आठ हजार मिटरभन्दा ठूला १४ वटा हिमाल नेपालमै हुनेछन् । यो कार्य अन्तिम चरणमा पुगेको छ, यसको डकुमेन्टेसनको काम भइरहेको छ ।’
यसअघि पर्यटन विभागले आफ्नो पिक–प्रोफाइलमा थप्दै ल्होत्से सार (८,४०० मिटर) र ल्होत्से सेन्टर (८,४१० मिटर)लाई आधिकारिक मान्यता दिइसकेको छ । साथै ताप्लेजुङस्थित कञ्चनजंघा क्षेत्रमा चारवटा नयाँ शिखर पहिचान भएका छन् । जसमा कञ्चनजंगा सेन्टर (८,४७३ मिटर), कञ्चनजंगा साउथ (८,४७६ मिटर), यालुङखाङ (८,५०५ मिटर) र यालुङखाङ वेस्ट (८,०७७ मिटर) रहेका छन् ।






