काठमाडौँ । काठमाडौँ महानगरपालिका-१० शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका-३ घर भई सोही होस्टेलमा बस्दै आएका १९ वर्षीय शेखर यादव र १९ वर्षीय प्रमित पटेल तथा होस्टेल सञ्चालक महोत्तरीको लोहरपट्टी नगरपालिका-६ का २३ वर्षीय आलोक ठाकुर छन्।
प्रहरीका अनुसार भदौ ५ गते बिहान करिब १०:१० बजे होस्टेलमा धारिलो हतियार प्रहार भएको सूचना प्राप्त भएको थियो। त्यसपछि प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले होस्टेलको कोठा नम्बर १०९ मा बस्दै आएका २२ वर्षीय वसन्त कालाथोकीलाई बाहिरी प्यासेजमा गम्भीर घाइते अवस्थामा फेला पारेको थियो।
चक्कु प्रहारबाट घाइते भएका कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। उपचारकै क्रममा सोही दिन दिउँसो १२ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै शेखर यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। फरार रहेका प्रमित पटेललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरसँगको समन्वयमा मकवानपुरको भैँसेबाट पक्राउ गरिएको हो।
होस्टेल सञ्चालक ठाकुरलाई भने भदौ ७ गते काठमाडौँको बुद्धनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिइएको छ। घटनाको कारण र पक्राउ परेकाहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






