काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरका तीन र नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधि सभा बैठकमा राखेका चार वटा शब्दहरू संसदको अभिलेखबाट हटाइएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसद राना र नेता थापाले प्रयोग गरेका अमर्यादित शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् । सभामुख अर्यालले भदौ १ गतेको सभाको बैठकमा इन्दिरा राना मगरले बोल्ने क्रममा प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू संसदको रेकर्डबाट हटाउन निर्देशन दिए । साथै भदौ ३ गते एमाले संसदीय दलका नेता थापाले प्रयोग गरेका ‘नागरिकहरूको बली’, ‘पाकिस्तानी मोडल, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।
उनले भने, ‘मिति २०८१ भदौ १ गतेको बैठकमा इन्दिरा राना मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति २०८३ भदौ ३ गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले प्रयोग गर्नुभएका ‘नागरिकहरूको बली’, ‘पाकिस्तानी मोडल, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।’
सभामुख अर्यालले छिमेकी मित्रराष्ट्रको शासकीय अभ्यासको विषयहरूलाई गलत अर्थ लाग्ने गरी नेपालको शासकीय अभ्यासको सन्दर्भसँग जोडेर उल्लेख नगर्न समेत सांसदहरूको ध्यानाकर्षण गराएका छन् ।






