काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली व्यापक रूपमा परिचालन भएको छ।
आज बिहान भोटेकोसीमा आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी लगायतका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको जानकारी प्राप्त हुनासाथ उद्धार टोली घटनास्थलतर्फ परिचालन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सैनिक मुख्यालयका अनुसार खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भइसकेका छन्। साथै, घाइतेहरूको उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा आपत्कालीन मेडिकल टोलीसमेत पुगिसकेको छ।
उद्धार कार्यका लागि धुन्चे र त्रिशूलीस्थित सैनिक ब्यारेकबाट टोलीहरू प्रभावित क्षेत्रतर्फ खटिएका छन्। यसैगरी, धादिङको गजुरीस्थित ६ नम्बर बाहिनी अड्डाबाट विपद् व्यवस्थापनमा तालिमप्राप्त दक्ष जनशक्तिलाई पनि परिचालन गरिएको सेनाले जनाएको छ।






