काठमाडौँ । समाज कल्याण परिषद्ले रसुवाको भोटेकोशी-त्रिशूलीमा गएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको भन्दै तत्काल उद्धार, राहत तथा पुनः स्थापनामा जुट्न आह्वान गरेको छ ।
परिषद्ले आज अत्यन्त जरुरी सूचना जारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ-संस्थालाई प्रभावित क्षेत्रमा राहत तथा पुनः स्थापनाका कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्न आग्रह गरेको हो ।
साथै, गैरसरकारी संघ-संस्थाले सञ्चालन गर्ने उद्धार, राहत तथा पुनः स्थापनासम्बन्धी गतिविधिको जानकारी समाज कल्याण परिषद्लाई गराउन अनुरोध गरिएको छ । परिषद्ले विपद्को समयमा प्रभावित नागरिकसम्म सहायता पुर्याउन सामाजिक संघ-संस्थाहरूलाई सक्रिय रूपमा परिचालित हुन आह्वान गरेको छ ।






