काठमाडौँ । नेपाली काँग्रेसले मुलुकमा रसुवा बाढी विपदबाट सिर्जित संकट व्यवस्थापन र राहत वितरणलाई व्यवस्थित बनाउन ‘विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ ।
पार्टीका सभापति गगनकुमार थापाले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसमितिको बैठकमा यससम्बन्धी कार्ययोजना प्रस्तुत गर्दै राहत र उद्धारमा संगठित रूपमा जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आह्वान गरेका हुन् ।
पार्टीका सांसद मोहन आचार्यको संयोजकत्वमा गठित उक्त समितिमा प्रभावित जिल्लाका पार्टी सभापतिहरू, प्रदेश तथा संघीय सांसदहरू र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूलाई समावेश गरिएको छ । आवश्यकताअनुसार पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरूलाई पनि यसै समितिमा जोडेर अघि बढ्ने निर्णय गरिएको छ ।
विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन काँग्रेसले केन्द्रीय कार्यालयमा तत्कालै एक ‘सूचना तथा समन्वय डेस्क’ स्थापना गर्ने भएको छ । कार्यवाहक मुख्यसचिव मानबहादुर थापाको नेतृत्वमा रहने यस डेस्कले नुवाकोट, धादिङ र रसुवालगायतका प्रभावित जिल्लाका स्थानीय तह र वडा तहसम्मका प्रतिनिधिहरूसँग समन्वय गरी वास्तविक तथ्यांक संकलन गर्नेछ ।
बैठकमा सभापति थापाले भने, ‘अहिलेको प्राथमिक कार्य सूचना सङ्कलन हो । कहाँ के कस्तो क्षति भएको छ र के कुराको आवश्यकता छ भन्ने स्पष्ट जानकारी भएपछि मात्रै हाम्रो सहयोग प्रभावकारी हुन्छ । हचुवाको भरमा गरिने सहयोगले कहिलेकाहीँ उल्टै असहजता निम्त्याउन सक्छ, त्यसैले सबै काम एकद्वार प्रणालीबाट व्यवस्थित गरिनेछ । अनावश्यक हल्ला र मिथ्या सूचना फैलाउने कार्य हाम्रो चरित्र होइन । हामी सरकार (स्थानीय, प्रदेश र संघीय) सँग समन्वय गरेर नागरिकलाई सहयोग गर्न प्रतिबद्ध छौँ ।’
विपद् व्यवस्थापनको लामो अनुभव र विज्ञता भएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेललाई पनि यस समितिमा रहेर सहयोग गर्न अनुरोध गरिएको छ । राहत र उद्धारका लागि आवश्यक आर्थिक स्रोत जुटाउन पार्टीका सांसद, स्थानीय जनप्रतिनिधि र केन्द्रीय सदस्यहरूले योगदान गर्ने निर्णय भएको छ । पार्टीको आन्तरिक कोषबाट परिचालन हुने उक्त रकमका अतिरिक्त सरकारले बनाउने कोषमा समेत विगतका कोभिड र जाजरकोट भूकम्पका समयमा जस्तै सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।
सभापति थापाले संकटको यस घडीमा राजनीतिक लाभका लागि सामाजिक सञ्जालमार्फत फैलाइने मिथ्या सूचना (मिसइन्फर्मेसन) र षड्यन्त्रका सिद्धान्तहरूबाट टाढा रहन आग्रह गरे । अहिलेको प्राथमिकता उद्धार र राहतमा भए पनि आगामी दिनमा पूर्वसूचना प्रणाली र विपद् तयारीका विषयमा गम्भीर छलफल हुनुपर्नेमा उनले जोड दिए । हिम पहिरो र हिमताल विस्फोट जस्ता जोखिमका विषयमा दीर्घकालीन योजना बनाउनुपर्ने आवश्यकता उहाँले औँल्याए ।






