काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधवार आएको भीषण बाढीका कारण त्रिशूली नदी आसपासका तटीय क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ ।
बाढीले रसुवादेखि चितवनसम्मको तटीय क्षेत्रमा असर पुर्याउनुका साथै कतिपय स्थानहरू डुबानमा परेपछि जनजीवन प्रभावित बनेको हो । बाढीका कारण सडक तथा बजार क्षेत्रमा जम्मा भएको हिलो र लेदो पन्छाउने कार्य अहिले तिब्र गतिमा भइरहेको छ । धादिङको बैरेनी बजार क्षेत्रमा बाढीले ल्याएको हिलो सोर्ने र अवरुद्ध सडक सफा गरी यातायात सुचारु गर्ने प्रयास जारी रहेको स्थानीय प्रशासनले जनाएको छ ।
यस्तै, नुवाकोटको रातोमाटे क्षेत्रमा बाढीका कारण पुगेको क्षतिको विवरण संकलन गर्ने र बेपत्ता हुन सक्नेहरूको खोज तथा उद्धार कार्य जारी रहेको छ । केरौनिटार लगायतका प्रभावित क्षेत्रहरूमा पनि सुरक्षा निकाय र स्थानीय उद्धार टोलीले उद्धार कार्यलाई निरन्तरता दिएका छन् । भोटेकोशी र त्रिशूली नदीको बहाव एक्कासि बढ्दा नदी किनारका बस्तीहरू कटानमा पर्नुका साथै भौतिक पूर्वाधारमा समेत गम्भीर क्षति पुगेको छ । बाढीले त्रिशूली नदीको आसपासका खेतीयोग्य जमिन र संरचनाहरू बगाएको छ ।
रसुवाबाट शुरु भएको बाढीको प्रभाव नुवाकोट र धादिङ हुँदै चितवनसम्म पुगेको थियो । हाल प्रभावित क्षेत्रहरूमा लेदो पन्छाउने, सडक सुचारु गर्ने र पीडितहरूलाई राहत तथा सुरक्षा प्रदान गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ । प्रशासनले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई अझै पनि सतर्क रहन आग्रह गरेको छ । आगामी आईतवारसम्म चीन क्षेत्रमा ठूलो वर्षा हुने भएकाले सतर्क रहन आग्रह गरिएको छ ।









