काठमाडौँ । भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीका कारण रसुवा र नुवाकोटका गरी ८ वटा विद्यालयमा गम्भीर क्षति पुगेको छ। क्षति पुगेकामध्ये ७ वटा विद्यालय रसुवाका र एउटा नुवाकोटको रहेको छ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित टिमुरेमा रहेका विद्यालयहरूमा सर्वाधिक असर परेको छ। टिमुरे सामुदायिक विद्यालयको भवनमा ठूलो क्षति पुगेको छ भने उत्तरगया गाउँपालिकास्थित उत्तरगया विद्यालयमा बाढी पसेपछि विद्यार्थीहरूले भागेर ज्यान जोगाएका छन्।
प्रारम्भिक विवरण अनुसार टिमुरेका तीन वटा बोर्डिङ स्कुल र दुई वटा सामुदायिक विद्यालय प्रभावित भएका छन्, जसमध्ये चार वटा विद्यालय भवन बाढीले बगाएको छ। ती विद्यालयहरूको नाम भने खुल्न बाँकी छ।
यस्तै, नुवाकोटको विदुर नगरपालिका–५ स्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा पनि भौतिक क्षति पुगेको छ। बाढीसँगै आएको हिलो, लेदो र बाढीजन्य फोहोर–सामग्री पसेर विद्यालय परिसर पूर्ण रूपमा भरिएको छ।






