काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिमा सबै राजनीतिक दलहरू एक ढिक्का भएर राहत र उद्धार कार्यमा जुट्नुपर्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले पीडितको घाउमा मलम लगाउन मानवीय हिसाबले सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिएका हुन् ।
सांसद राईले विगत ६ महिनाको अवधिमा भएको ठूलो धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सदनमा पनि सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाइएको जानकारी दिए। उनले आफ्नो पार्टीले हिजोदेखि नै फिल्डमा युवा स्वयंसेवकहरू परिचालन गरी उद्धार कार्य सुरु गरिसकेको बताए ।
राहत संकलनका लागि पार्टीले सार्वजनिक गरेको क्युआर कोडका विषयमा स्पष्ट पार्दै उनले भने,‘हामीले संकलन गरेको रकम पारदर्शी ढङ्गले सरकारको निगरानीमा नै खर्च गर्नेछौँ । जसलाई विश्वास लाग्छ, उहाँहरूले सहयोग गर्न सक्नुहुन्छ । शंका लाग्ने महानुभावहरूले सिधै सरकारको खातामा सहयोग जम्मा गर्दा पनि हुन्छ । हाम्रो प्राथमिकता क्यास बाँड्ने भन्दा पनि आवश्यक सामग्रीहरू जुटाएर पीडितसम्म पुर्याउने र श्रममार्फत सहयोग गर्ने हो ।’
सांसद राईले विपत्तिको समयमा भएका केही अमानवीय घटनाहरूप्रति कडा आक्रोश व्यक्त गरे । विपद्मा परेका मृतक तथा घाइतेका शरीरबाट सुनका गहना लुट्ने जस्ता कार्य भइरहेकोतर्फ संकेत गर्दै उनले त्यस्ता कार्यमा संलग्नहरूलाई तत्काल कारबाही गर्न गृहमन्त्रीसँग आग्रह गरेको समेत जानकारी दिए।
सांसद राईले विगतका विपद्हरूमा जस्तै केही समयपछि पुनर्निर्माणका काम सुस्ताउने प्रवृत्ति दोहोरिन नहुने बताए ।
उनले भोटेकोशी र सुनकोशी क्षेत्रका पुलहरू अझै निर्माण नभएको उदाहरण दिँदै अहिलेको क्षतिलाई वैज्ञानिक ढंगबाट चाँडोभन्दा चाँडो पुनर्निर्माण गर्नुपर्ने र यसमा आफ्नो पार्टीको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।






