काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा तत्काल परिचालन हुने गरी ५ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
सहयोगअन्तर्गत प्रभावित परिवारलाई राहत उपलब्ध गराउनुका साथै उद्धार तथा आवश्यक अन्य सहायता समेटिने जनाइएको छ।
संघको आकस्मिक बैठकले रसुवामा बाढीबाट प्रभावित क्षेत्रका लागि राहत तथा उद्धारसम्बन्धी कामलाई व्यवस्थित गर्न अध्यक्ष डा. हेमराज शर्माको संयोजकत्वमा मूल समिति गठन गरेको छ।
सहयोगका लागि आवश्यक स्रोत जुटाउन कोषाध्यक्ष कृष्ण तिमल्सिनाको नेतृत्वमा आर्थिक सहयोग संकलन समिति बनाइएको छ। त्यस्तै, प्रभावित क्षेत्रमा तत्काल आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन मेडिकल टोली तथा स्वयंसेवक खटाउने निर्णय बैठकले गरेको छ।
संघले आफ्ना पदाधिकारी र सदस्यहरूलाई पनि उद्धार तथा राहत अभियानमा स्वयंसेवकका रूपमा सहभागी हुन आह्वान गरेको छ। यसबाट प्रभावित क्षेत्रमा आवश्यक जनशक्ति परिचालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, एनआरएनएका पदाधिकारी तथा सदस्यका परिवारमध्ये कोही बाढीबाट प्रभावित भए/नभएको विवरण संकलन गरिने भएको छ। प्रभावित परिवारको आवश्यकता पहिचान गरी उद्धार तथा राहत उपलब्ध गराउन सरकारी निकायसँग समन्वय गर्ने निर्णयसमेत भएको महासचिव डा. चीरञ्जीवी खड्काले जानकारी दिएका छन्।






