काठमाडौँ । बाढीका कारण फुर्के खोला पुल बगेपछि अवरुद्ध भएको धादिङ सदरमुकामसँगको सडक सम्पर्क वैकल्पिक मार्गबाट पुन:स्थापित गरिएको छ।
संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौँका अनुसार मासटार-क्युरिनटार हुँदै त्रिशूली नदीको दायाँ किनाराबाट धादिङबेंसी पुग्ने मार्गलाई तत्कालका लागि सञ्चालनमा ल्याइएको हो। उक्त मार्गबाट अहिले साना सवारीसाधन धादिङबेंसीसम्म आवतजावत गर्न थालेका छन्।
रसुवा क्षेत्रमा आएको बाढीले फुर्के खोलाको पुलमा क्षति पुर्याएपछि धादिङबेंसीसँगको नियमित सडक सम्पर्क विच्छेद भएको थियो। त्यसपछि सडक विभागले वैकल्पिक मार्ग पहिचान गरी आवश्यक सुधारका काम अघि बढाएको हो।
संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौँका प्रमुख सञ्जय नेपालका अनुसार वैकल्पिक मार्गको अधिकांश काम पूरा भइसकेको छ। बाढी र पहिरोका कारण लेदो तथा हिलो जमेको स्थानमा ग्राभेल बिछ्याउने र सडकलाई थप सहज बनाउने काम भइरहेको छ।
खोल्सी तथा पानी बग्ने स्थानमा तत्काल स्थायी संरचना निर्माण सम्भव नभएका ठाउँमा ढुंगा मिलाएर सवारीसाधन पार गर्न सकिने व्यवस्था गरिएको छ। आवश्यक देखिएका स्थानमा अस्थायी संरचना तथा कल्भर्ट निर्माण गर्ने तयारीसमेत भइरहेको कार्यालयले जनाएको छ।
ठूला सवारीसाधन सञ्चालनका लागि भने केही खण्डमा थप सुधार आवश्यक रहेको छ। बाढीले सडक बगाएका स्थानमा लेदो हटाउने, ग्राभेल भर्ने र सडकको सतह मिलाउने काम जारी रहेकाले क्रमशः अन्य सवारीसाधनका लागि समेत मार्ग सहज बनाइने बताइएको छ।
वैकल्पिक सडक सञ्चालनका लागि सडक डिभिजन नुवाकोटको प्राविधिक टोलीसहित दुई वटा मेसिन परिचालन गरिएको छ। बाढीबाट क्षति पुगेका अन्य सडक खण्डमा पनि आवश्यकता हेरी निर्माण उपकरण परिचालन गरिएको संघीय सडक सुपरिवेक्षण कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार वैकल्पिक मार्गलाई तत्कालीन आवागमनका लागि उपयोगी बनाइसकिएको भए पनि बाढीबाट प्रभावित कमजोर खण्डमा थप सुधारको काम निरन्तर अघि बढाइनेछ।






