काठमाडौँ । पूर्वमुख्यसचिव तथा अर्थ मन्त्रालयमा लामो समय काम गरेका अर्थशास्त्री डा. बैकुण्ठ अर्याल हिमालयन बैंक लिमिटेडको अध्यक्षमा चयन भएका छन्।
बैंकको आइतबार बसेको सञ्चालक समितिको ५०६औँ बैठकले अर्याललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।
अर्याल संस्थापक समूहका शेयरधनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिनिधित्व गर्दै हिमालयन बैंकको सञ्चालक समितिमा प्रवेश गरेका हुन्।
नवनियुक्त अध्यक्ष अर्यालले सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बैंकका अनुसार बालुवाटारस्थित गभर्नरको कार्यालयमा आयोजित समारोहमा उनले शपथ लिएका हुन्।
अर्थ मन्त्रालयमा ६ वर्षभन्दा बढी
निजामती प्रशासनमा लामो अनुभव भएका अर्यालले अर्थ मन्त्रालयमा सहसचिवका रूपमा ६ वर्षभन्दा बढी काम गरेका थिए। त्यसक्रममा उनले आर्थिक नीति, बजेट तथा कार्यक्रम र अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वयलगायत महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका थिए।
अर्थ मन्त्रालयको लामो अनुभवपछि सचिवमा बढुवा भएका अर्यालले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न जिम्मेवारी सम्हालेका थिए।
प्रशासनिक सेवाको उच्च तहमा पुगेका अर्याल पछि नेपाल सरकारको मुख्यसचिव बनेका थिए। मुख्यसचिवको जिम्मेवारी सम्हालेपछि उनी निजामती सेवाबाट अवकाश भएका हुन्।
सरकारी सेवामा आर्थिक तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका अर्यालले अवकाशपछि हिमालयन बैंकको सञ्चालक समितिको नेतृत्व सम्हालेका हुन्।






