काठमाडौँ । भोटेकोशीमा आएको बाढीका कारण देशको रणनीतिक सडक सञ्जालमा गम्भीर क्षति पुगेको सडक विभागले जनाएको छ ।
विभागका महानिर्देशक डा. विजय जैसीले मंगलवार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार बाढी र पहिरोले विशेष गरी गल्छी-बेत्रावती-रसुवागढी र पृथ्वी राजमार्गको गल्छी-मुग्लिङ खण्डमा सबैभन्दा बढी प्रभाव पारेको छ ।
महानिर्देशक जैसीका अनुसार ८२ किलोमिटर लामो गल्छी-बेत्रावती-रसुवागढी सडक खण्डको विदुरदेखि रसुवागढीसम्मको ५६ किलोमिटरमध्ये ४० किलोमिटर सडक पूर्ण रूपमा ध्वस्त भएको छ ।
यस्तै, पृथ्वी राजमार्गको कृष्णभीर र परेवाभीरमा सडकको ठूलो हिस्सा नदीले कटान गरेपछि यातायात सम्पर्क विच्छेद भएको छ । गल्छी, बैरेनी, जरेखेत र पोखरे क्षेत्रमा दुईदेखि तीन मिटरसम्म लेदो जमेर सडक अवरुद्ध भएको थियो, जसलाई विभागले चुनौतीपूर्ण अवस्थाका बीच पन्छाएर यातायात सुचारु गरेको छ ।
बाढीले देशभर विभाग मातहतका ३१ वटा पुलमा क्षति पुर्याएको छ । कतिपय पुल पूर्ण रूपमा बगेका छन् भने कतिपयको स्थानमा क्षति पुगेको छ । विभागले तत्कालका लागि तीन स्थानमा बेलिब्रिज जडानको प्रक्रिया सुरु गरिसकेको छ । देवीघाटस्थित तादी खोलामा ५० मिटर लामो बेलिब्रिज हाल्ने तयारी भइरहेको छ भने त्रिशूली बजार र बेत्रावतीमा पनि बेलिब्रिज जडानका लागि डिजाइन सम्पन्न भएको छ । अन्य २० वटा क्षतिग्रस्त पुलहरूको प्राविधिक सर्वेक्षण भइरहेको र आवश्यकताअनुसार बेलिब्रिज राखिने विभागले जनाएको छ ।
धादिङबेंसी जोड्ने फुर्केखोलाको पुल भाँचिएपछि माल्टार, गजुरीटार र केउरिनीघाट हुँदै वैकल्पिक मार्गमार्फत सम्पर्क स्थापित गरिएको छ । त्यसैगरी, काठमाडौँबाट धुन्चे जानका लागि टोखा-छहरे-विदुर-बोगटीटार हुँदै ११० किलोमिटरको वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ । कृष्णभीरको अवरोध हटाउन भित्ता काट्ने वा त्रिशूली पारिबाट नयाँ ट्रयाक खोल्ने भन्ने विषयमा नेपाल जियोटेक्निकल सोसाइटीका विज्ञहरूसँग परामर्श भइरहेको महानिर्देशक जैसीले बताए।
सडकको आकस्मिक मर्मत र पुनर्स्थापनाका लागि सडक बोर्डको बैठकले तत्काल ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । थप आवश्यक खर्च योजना अन्तर्गतकै बजेटबाट व्यवस्थापन गरिनेछ । हाल कार्यक्षेत्रमा ५० जनाभन्दा बढी वरिष्ठ प्राविधिक, इन्जिनियर र मेकानिक्सहरू खटिएका छन् । विभागले १५ वटाभन्दा बढी हेभी इक्विपमेन्टहरू विभिन्न खण्डमा परिचालन गरेको छ । दसैँ नजिकिँदै गरेको अवस्थालाई ध्यानमा राख्दै पेट्रोलियम पदार्थ र ग्यास बुलेटको आपूर्तिका लागि त्रिभुवन राजपथ र कान्ति लोकपथलाई प्राथमिकतामा राखिएको छ । बिपी राजमार्गमा साना सवारीलाई प्राथमिकता दिने र अत्यावश्यक सामग्री बोकेका ट्रकहरूलाई रातको समयमा हेटौँडाबाट पठाउने योजना आपूर्ति मन्त्रालयसँगको समन्वयमा बनाइएको छ ।
महानिर्देशक जैसीका अनुसार हाल कोदारी राजमार्ग सञ्चालनमा छ भने इलामको राँके-दुहाली खण्डको अवरोध पनि हटाइएको छ । वर्षातको मौसम अझै बाँकी रहेकाले विभागले आफ्ना सम्पूर्ण संयन्त्रलाई ‘अलर्ट’ अवस्थामा राखेको जानकारी दिएको छ ।






