एजेन्सी । मिसौरी राज्यले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमर्थित नयाँ काँग्रेसनल निर्वाचन क्षेत्रको नक्सा प्रयोग गर्न अनुमति माग्दै शुक्रबार अमेरिकी सर्वोच्च अदालतमा निवेदन दिएको छ ।
मिसौरीको उच्च अदालतले नयाँ नक्साको कार्यान्वयन रोक्दै त्यसलाई कायम राख्ने वा खारेज गर्ने विषयमा नोभेम्बरमा राज्य व्यापी जनमत सङ्ग्रह गर्न आदेश दिएपछि राज्यले संघीय सर्वोच्च अदालतमा निवेदन दिएको हो ।
नयाँ नक्साले रिपब्लिकनलाई अमेरिकी प्रतिनिधिसभामा थप एक सिट जित्न सहयोग गर्ने अपेक्षा गरिएको छ । यसबाट आगामी मध्यावधि निर्वाचनमा प्रतिनिधिसभामा रिपब्लिकनको झिनो बहुमत कायम राख्न सहयोग पुग्ने बताइएको छ ।
नयाँ निर्वाचन क्षेत्रको विरोध गर्ने समूहले जनमतसङ्ग्रहका लागि तीन लाखभन्दा बढी हस्ताक्षर संकलन गरेपछि विवाद अदालत पुगेको थियो । रिपब्लिकन सेक्रेटरी अफ स्टेट डेनी हस्किन्सले अगस्तमा भएको प्राथमिक निर्वाचनका क्रममा उक्त निवेदन अस्वीकार गरेका थिए ।
उनले राज्यको संविधानले कङ्ग्रेसनल निर्वाचन क्षेत्र पुन:सीमांकनसम्बन्धी जनमत सङ्ग्रहको व्यवस्था नगरेको तर्क गरेका थिए । हस्किन्सले तल्लो अदालतमा आफ्नो निर्णयको बचाउ गरे पनि बिहीबार मिसौरीको उच्च अदालतले उनको निर्णय उल्टाइदिएको थियो ।
राज्यको सर्वोच्च अदालतले जनमत सङ्ग्रहबाट मतदाताको अनुमोदन नभएसम्म नयाँ निर्वाचन क्षेत्र लागू गर्न नपाइने फैसला गरेको छ । अदालतले आगामी आम निर्वाचनमा सन् २०२० को जनगणनापछि कायम रहेका पुराना निर्वाचन क्षेत्र नै प्रयोग गर्नुपर्ने आदेश दिएको छ ।
मिसौरीकी महान्यायाधिवक्ता क्याथरिन हानावेले प्राथमिक निर्वाचनपछि र आम निर्वाचनअघि कङ्ग्रेसनल निर्वाचन क्षेत्रसम्बन्धी यस्तो आदेश अमेरिकी इतिहासमा अभूतपूर्व भएको दाबी गरेका छन् ।
उनको कार्यालयले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा नयाँ आदेशका कारण राज्यमा निर्वाचन सञ्चालनमा अभूतपूर्व अस्तव्यस्तता उत्पन्न हुने उल्लेख गरेको छ । संघीय निर्वाचन समयमै सञ्चालन गर्न राज्यले आफ्नो कङ्ग्रेसनल नक्सा परिवर्तन गर्न पाउने वा नपाउने विषयमा समेत अन्योल उत्पन्न भएको निवेदनमा जनाइएको छ ।
हानावेले मिसौरीको सर्वोच्च अदालतको निर्णय तत्काल रोक्न अमेरिकी सर्वोच्च अदालतसँग आग्रह गरेका छन् ।
राज्यको कानुनअनुसार नोभेम्बरमा हुने निर्वाचनको मतपत्रमा आवश्यक परिवर्तन गर्न मंगलबारसम्मको समयसीमा रहेको छ । मुद्दाको सुनुवाइ गरिरहेका अमेरिकी सर्वोच्च अदालतका न्यायाधीश ब्रेट काभानोघले नयाँ नक्साका आलोचकहरूलाई सोमबारसम्म राज्यको निवेदनबारे जवाफ दिन निर्देशन दिएका छन् ।
जनमत सङ्ग्रहका समर्थकहरूले नयाँ निर्वाचन क्षेत्रबारे अन्तिम निर्णय गर्ने अधिकार राज्यका मतदातालाई दिनुपर्ने बताएका छन् । मिसौरीबाट हाल अमेरिकी प्रतिनिधिसभामा छ जना रिपब्लिकन र दुई जना डेमोक्र्याट प्रतिनिधि छन् । नयाँ नक्साले लामो समयदेखि डेमोक्र्याटिक प्रतिनिधि इमानुएल क्लीभरले प्रतिनिधित्व गर्दै आएको कान्सास सिटी क्षेत्रको निर्वाचन क्षेत्रलाई समेत पुन: संरचना गरेको छ ।
सामान्यतया नयाँ जनगणनाको तथ्यांकका आधारमा प्रत्येक दशकको सुरुआतमा कङ्ग्रेसनल निर्वाचन क्षेत्र पुन:सीमांकन गरिन्छ । तर मध्यावधि निर्वाचनमा राजनीतिक लाभ हासिल गर्ने उद्देश्यले ट्रम्पले अघि बढाएको अभियानका कारण यस पटक मध्य–दशकमा निर्वाचन क्षेत्र पुन:सीमांकन गर्ने विषयमा विभिन्न राज्यमा विवाद उत्पन्न भएको छ ।
यससम्बन्धी राजनीतिक तथा कानुनी विवाद डेमोक्र्याट र रिपब्लिकनको नेतृत्वमा रहेका एक दर्जनभन्दा बढी राज्यमा फैलिएको छ ।






