काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाका सिलसिलामा भोटेकोशी बाढीमा परी मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई रु. २५ लाख राहत उपलब्ध गराउने भएको छ ।
सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई राष्ट्रसेवकका तर्फबाट तत्काल रु. १५ लाख र ‘सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवालारआश्रित परिवारलाई उपलब्ध गराउने राहतसम्बन्धी कार्यविधि,२०७९’ बमोजिम रु. पाँच लाख तथा ‘सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१’ बमोजिम रु. पाँच लाखसमेत गरी कुल २५ लाख रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिइ भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पायकपर्ने नेपाल एपिएफ स्कुलमा कक्षा १० सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छुट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य भोटेकोशी बाढीका कारण मृत्यु भएमा राहत स्वरूप प्रतिव्यक्ति रु. एक लाख तत्काल उपलब्ध गराउने तथा बाढीबाट मृत्यु भएका सशस्त्र प्रहरीको स्मृतिमा स्मारकसमेत निर्माण गर्ने भएको छ ।
बाढीमा परी सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहीन भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो बाढीमा परी ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरीलाई राहत स्वरूप जनही रु. ५० हजार प्रोत्साहन रकम उपलब्ध गराउने सशस्त्रको निर्णय छ ।
बाढीबाट अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा रु. एक लाख, घरबार विहीन भएमा एक लाख र आंशिक रूपमा भौतिक संरचनाको क्षति भएको तथा घाइतेलाई रु. ५० हजारसम्म तत्काल उपलब्ध गराइने सह प्रवक्ता थापाले जानकारी दिए ।
सशस्त्र प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट रु. १५ करोड ५० लाख रकम जम्मा गर्ने निर्णय गरेको छ । टिमुरेस्थित बोर्डर आउट पोष्ट र सुरक्षा बेस मैलुङमा कार्यरत रही बाढीमा ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरीको हकमा भने रकम कट्टा नगरिने उनले जानकारी दिए ।






