काठमाडौँ । किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुन: एक पटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन् ।
जापानको नागोया सहरको करिया हलमा आज साँझ सम्पन्न ‘हिट किक बक्सिङ-५९ अन्तर्राष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घ, विश्व च्याम्पियनसिपको मेन इभेन्ट प्रतियोगितामा ‘हिमालयन चितुवा’ ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन चोइनार्डलाई नक आउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल भएका छन् । प्रतिस्पर्धी बक्सर चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन खेलाडी हुन् ।
दोस्रो राउण्डको दोस्रो मिनेटमा बक्सर घिमिरे कडा मुक्का प्रहार गर्दै प्रतिस्पर्धी चोइनार्डलाई नकआउटमा पराजित गर्न सफल भयो ।
हालसम्म २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका उनी २१ खेलमा विजय हासिल गर्दा २० मा नकआउट गर्दै जित्ने एक मात्र नेपाली खेलाडी हुन् । नेपालको गौरव, नेपालको साहस र नेपाली शानलाई किक बक्सिङ खेलमार्फत देशको पहिचान अन्तर्राष्ट्रिय जगतमा पुर्याउने बक्सर घिमिरे नेपालको चम्किला तारा बनेका छन् ।
विजय प्राप्त गरेपछि बक्सर घिमिरेले हालै रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने जानकारी दिए । साथै हालसम्म आइ आफ्नो खेललाई साथ र सहयोग गर्न सबैलाई धन्यवाद दिए ।






