काठमाडौँ । अफगानिस्तानको राजधानी काबुलमा एक युवा महिला उद्यमीले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ अनलाइन बस टिकट बुकिङ सेवा शुरु गरेकी छन् । सदफ अफगानले सञ्चालनमा ल्याएको क्युएएसआइटीडटएएफ नामक अनलाइन प्लेटफर्मले यात्रुहरूलाई बस टर्मिनलसम्म जानुपर्ने झन्झटबाट मुक्त गर्दै घरमै बसेर टिकट बुक गर्ने सुविधा प्रदान गरेको छ । करिव एक वर्षअघि विकास गरिएको यो प्लेटफर्म पाँच महिनाअघि औपचारिक रूपमा सञ्चालनमा आएको थियो । सुरुमा तीन जनाको टोलीबाट शुरु भएको यस स्टार्टअपमा हाल आठ जना कर्मचारी कार्यरत छन्, जसमा चार जना महिला रहेका छन्। यस संस्थाले अनलाइनमार्फत टिकट बुक गर्ने र ग्राहकको घरदैलोमै टिकट पुर्याउने सेवा दिँदै आएको छ ।
संस्थाकी संस्थापक सदफ अफगानले आफ्नो व्यवसायको मुख्य लक्ष्य सेवा विस्तार गरी प्रान्तहरूमा पनि शाखा खोल्नु र महिला तथा पुरुष दुवैका लागि रोजगारीका अवसर सिर्जना गर्नु रहेको बताइन् । उनले भनिन्, ‘कुनै पनि व्यवसाय सुरु गर्नु प्रारम्भिक चरणमा चुनौतीपूर्ण हुन्छ, तर हामीले हार मान्नु हुँदैन । सरकारले नयाँ स्टार्टअपहरूलाई सहयोग गरेमा हामी अझै प्रगति गर्न सक्छौँ ।’
अफगानिस्तानमा रेल नेटवर्क वा मेट्रो प्रणालीको अभावका कारण अन्तर सहर यातायातका लागि सडक मार्ग नै प्रमुख माध्यम हो । यहाँ ४५० किलोमिटरको दूरी पार गर्न सडकको अवस्था र ट्राफिकका कारण कम्तीमा १० घण्टा लाग्ने गर्दछ । यस्तो अवस्थामा डिजिटल सेवाले यात्रुहरूको यात्रा अनुभवलाई केही हदसम्म सहज बनाउने अपेक्षा गरिएको छ ।
यस कम्पनीले परम्परागत रोजगारीको दायरालाई तोड्दै महिलाहरूलाई पनि चुनौतीपूर्ण भूमिकामा अवसर दिएको छ । २० वर्षीया तमन्ना मोहम्मदी यसको एक उदाहरण हुन् । उनी दैनिक मोटरसाइकल चलाएर ग्राहकहरूको ठेगानामा टिकट पुर्याउने कार्यमा संलग्न छिन् । ‘मानिसहरूको सेवा गर्न पाउँदा मलाई गर्व लाग्छ । अब हाम्रा देशवासीहरूले बसको टिकटका लागि टर्मिनलसम्म धाइराख्नु पर्दैन ।’ मोहम्मदीले बताइन् ।
आगामी दिनमा आफ्नो सेवालाई हवाई टिकट बुकिङसम्म विस्तार गर्ने लक्ष्य राखेको छ, जसले गर्दा सर्वसाधारणले घरमै बसेर हवाई उडानको टिकट समेत प्राप्त गर्न सक्नेछन् ।






