काठमाडौँ । नेपाली काँग्रेसले गत पुसमा क्रियाशील नवीकरण गरेका तर प्राविधिक रूपमा अद्यावधिक नभएका सदस्यहरूलाई समेत पार्टीको १५ औँ महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ ।
पार्टीको केन्द्रिय कार्यसम्पादन समितिको जारी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी महामन्त्री गुरुराज घिमिरेले पार्टीको विशेष महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेत १५ औँ महाधिवेशनमा सहभागी गराउने तथा निष्पक्षता सुनिश्चित गर्नको लागि यस्तो निर्णय गरिएको बताए ।
महामन्त्री घिमिरेले विशेष महाधिवेशनमा सहभागी हुन नखोजेको समूहको महत्वपूर्ण माग पूरा गरेसँगै पार्टीभित्रको विवाद समाधान गर्न संस्थापन पक्ष लचिलो रहेको बताए ।
यसअघि पार्टीका नि:वर्तमान सभापति शेरबहादुर देउवा समूहले गत पुसमा नवीकरण गरिएका क्रियाशील सदस्यलाई अद्यावधिकको बाध्यकारी प्रक्रियामा सहभागी हुनुपर्ने व्यवस्था हटाउन माग गर्दै आएको थियो ।
महामन्त्री घिमिरेले गत पुसमा नवीकरण गरेका सदस्यहरूले समेत डिजिटल रूपमा अद्यावधिक गर्नुपर्ने भए पनि महाधिवेशनको प्रक्रियाबाट वञ्चित नगर्ने निर्णय पार्टीले गरेको बताए ।
उनले भने, ‘केही समय अघिदेखि क्रियाशीलको विषय विवादको विषयजस्तो देखिएको थियो । अद्यावधिक गर्ने र नगर्ने भन्ने दुई थरी पक्ष विपक्षजस्तो थियो । र दुई खेमामा बाँडिएको थियो । र विशेष महाधिवेशनमा सहभागी नभएको पक्ष अर्थात् अद्यावधिको प्रक्रियामा सहभागी हुन्नौँ भनेर भनिरहेको पक्षको माग के थियो भने महाधिवेशनको निष्पक्षता र महाधिवेशनमा सर्वपक्षीय सहभागिताको सुनिश्चितता प्रत्याभूतिका लागि गत पुसमा नवीकरण गरिएका क्रियाशील सदस्यहरूलाई अद्यावधिकको बाध्यकारी प्रक्रिया नअपनाउने सुविधा उपलब्ध गराउनुपर्यो भन्ने माग थियो । र हामीले अध्ययन गरेछि उहाँहरू पनि डिजिटलाइजेसनको प्रक्रियामा सामेल हुनुपर्छ । तर हाललाई महाधिवेशनकाने प्रक्रियाबाट रञ्जित नगर्ने निर्णय गर्यौँ ? उहाँहरूले पनि डिजिटलाइजेसनमा प्रोसेस गर्नुपर्छ । तर अहिले महाधिवेशनमा सहभागी हुने व्यवस्था हामीले गरेका छौँ । उहाँहरूको माग नै हो । यो पूरा गर्यौँ ? उहाँहरू (डा. शेखर कोइराला र पूर्णबहादुर खड्का(सँगको वार्ता सकारात्मक भएको सभापतिज्यूले हामीलाई बताउनुभएको छ । अब उहाँहरूले नि:वर्तमान सभापतिज्यूसँग पनि कुरा गर्ने भनेर उहाँहरूसँग भन्नुभएको रहेछ । सम्भवतः हामीले उहाँहरूको एक चरणको माग सम्बोधन गरेका छौँ । अब बाँकी कुरा कहाँ पुग्यो ? उहाँहरूले जानकारी गराउनुहुन्छ ।’
उनकाअनुसार बैठकमा सभापति गगनकुमार थापाले आइतबार डा. शेखर कोइराला र पूर्णबहादुर खड्कासँग भएको वार्ता सकारात्मक रहेको जानकारी गराएका थिए।






