काठमाडौं । चिलिमे जलविद्युत आयोजनाको सुरुङभित्र जारी उद्धार कार्य पावर हाउस क्षेत्रतर्फ केन्द्रित भएको छ। उद्धार टोलीले सुरुङभित्र करिब २०० मिटर अगाडि रहेको पावर हाउससम्म पुग्ने प्रयास गरिरहेको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर श्रीराम न्यौपानेले आयोजना स्थलबाट सार्वजनिक गरेको जानकारी अनुसार उद्धार टोलीले हालसम्म सुरुङभित्र करिब ९० मिटर दूरी पार गरिसकेको छ। सुरुङको थप भागमा रहेको पावर हाउस क्षेत्रसम्म पुग्न प्राविधिक तथा भौतिक अवरोध हटाउँदै काम अघि बढाइएको छ।
पावर हाउस करिब ६० मिटर लामो, २५ मिटर अग्लो र २० मिटर चौडाइको रहेको बताइएको छ। प्राविधिक डिजाइन, संरचना तथा सुरुङभित्र रहेको लेदोयुक्त पानीको अवस्थाको अध्ययन गर्दा पावर हाउसको माथिल्लो भागमा केही खुला र सुरक्षित स्थान हुन सक्ने अनुमान गरिएको छ।
प्राविधिक विश्लेषणअनुसार उक्त क्षेत्रमा कम्तीमा दुई मिटरदेखि बढीमा आठ मिटरसम्म खुला स्थान रहन सक्ने सम्भावना रहेको सांसद न्यौपानेले बताएका छन्।
त्यस क्षेत्रमा चामल, पानी, चिनी, चिया तथा पर्याप्त प्रकाश उपलब्ध गराउन सक्ने ठूलो ब्याट्री बैंकलगायत सामग्री रहेको जानकारी उद्धार टोलीले प्राप्त गरेको छ। साथै, त्यहाँ भान्सा, खानेपानी र खाद्य सामग्रीको व्यवस्था रहेको जनाइएको छ।
यस कारण सुरुङभित्र रहेका व्यक्तिहरू उक्त स्थानसम्म पुग्न सफल भएका भए उनीहरू सुरक्षित हुन सक्ने सम्भावना रहेको भन्दै जीवित उद्धारप्रति आशा व्यक्त गरिएको छ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन भोलिसम्म एक्स्काभेटर पुग्ने पहुँच मार्ग निर्माण गर्ने लक्ष्यसहित काम भइरहेको छ। हालसम्मको कार्य प्रगति सन्तोषजनक रहेको जानकारी दिइएको छ।
न्यौपानेका अनुसार सुरुङको डिजाइन, ड्रइङ तथा अन्य प्राविधिक पक्षको अध्ययनबाट पावर हाउसको माथिल्लो भाग तुलनात्मक रूपमा सुरक्षित स्थान हुन सक्ने देखिएको छ। यही सम्भावनालाई आधार बनाएर उद्धार टोलीले जीवित उद्धारको लक्ष्यसहित कामलाई निरन्तरता दिएको छ।
कति समयसम्म जीवित रहन सकिन्छ ?
सुरुङभित्र थुनिएको अवस्थामा व्यक्तिको जीवन रक्षा मुख्यतः उपलब्ध पानी, हावाको गुणस्तर, तापक्रम र स्वास्थ्य अवस्थासँग सम्बन्धित हुने प्राविधिक विश्लेषणमा उल्लेख गरिएको छ।
सुरक्षित स्थानमा पानी उपलब्ध भएको र शारीरिक गतिविधि कम गरी ऊर्जा बचत गर्न सकिएको अवस्थामा खाद्यान्नको अभाव हुँदासमेत शरीरमा सञ्चित ऊर्जाको उपयोगबाट केही समय जीवित रहन सक्ने सम्भावना हुन्छ। तर जीवित रहने अवधि व्यक्तिको स्वास्थ्य अवस्था र सुरुङभित्रको वातावरणअनुसार फरक पर्न सक्छ।
विशेष गरी अक्सिजनको उपलब्धता र कार्बन डाइअक्साइडको मात्रा निर्णायक हुने बताइएको छ। बाहिरबाट हावा प्रवेश हुन नसक्ने अवस्थामा अक्सिजनको मात्रा घट्दै जाँदा र कार्बन डाइअक्साइड बढ्दै जाँदा गम्भीर स्वास्थ्य जोखिम उत्पन्न हुन सक्छ।
चिलिमे जलविद्युत आयोजना स्थलमा जारी उद्धार कार्य अहिले सम्भावित सुरक्षित क्षेत्रसम्म पुग्ने प्रयासमा केन्द्रित छ। उद्धार टोली र सरोकारवाला निकायहरू सुरक्षित तथा सफल जीवित उद्धारको आशासहित काममा जुटिरहेका छन्।






