काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश जनस्वास्थ्य प्रयोगशालाका तत्कालीन निर्देशक डा. श्रवणकुमार मिश्रसमेत प्रतिवादी रहेको गैर कानुनी लाभ तथा हानि पुर्याई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगका अनुसार आर्थिक वर्ष २०७९/८० मा मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधामबाट प्रदेशभित्रका ७५ वटा स्थानीय तहका जनस्वास्थ्य प्रयोगशाला (निदान केन्द्र) स्थापनाका लागि भएको खरिदमा सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावलीविपरीत काम गरिएको अभियोग थियो।
खरिद कार्यमा मिलेमतो गरी छ करोड पाँच लाख एघार हजार पाँच सय रुपैयाँ कायम गरी सोही रकम बराबरको गैर कानुनी लाभ तथा हानि पुर्याएको दाबी गर्दै आयोगले डा. मिश्रलगायतविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय माग गरेको थियो।
यस्तै, डा. मिश्रलाई सोही ऐनको दफा ११ को उपदफा (१) बमोजिमसमेत सजाय हुन माग गर्दै आयोगले विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको थियो।
उक्त मुद्दामा विशेष अदालतले २०८२।११।१३ गते गरेको फैसलाबाट प्रतिवादीलाई आंशिक सफाइ दिएपछि आयोगले चित्त नबुझाएको जनाएको छ। आयोगका तर्फबाट आज उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गरिएको हो।






