काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले वर्तमान सरकार जेन जेड पुस्ताको भावना र अपेक्षाअनुसार अघि बढ्न नसकेको आरोप लगाएका छन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले सरकारमा बसेकाहरूले नागरिक समाज र अन्य राजनीतिक दलहरूसँग समेत संवाद गर्न नचाहेको उल्लेख गर्दै सरकार एक्लैले मात्र राज्य सञ्चालन गर्न असम्भव हुने बताए ।
उनले मुलुकको लोकतन्त्र, स्वाधीनता र संविधानमाथिको खतरा समेत बढ्दै गएको बताए । उनले गृहमन्त्री सुधन गुरुङले पुराना नेताहरू सुध्रिनुपर्ने भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले पुनले पुराना राजनीतिक शक्ति र नेताहरूलाई जनताले दण्डित गरिसकेको स्वीकार गर्दै आफूहरू सच्चिएर फेरि जनताको भावना बोकेर राज्यसत्ताको नेतृत्वमा आउने विश्वासका साथ काम गरिरहेको पनि बताए ।
उनले भने, ‘एकतातिर मुलुकको लोकतन्त्र, स्वाधीनता र संविधानमाथि खतरा छ भने अर्कोतिर अहिलेको सरकार पनि जेन–जी पुस्ताको भावनाअनुसार चल्न सकेको छैन । अहिलेको सरकार, प्रधानमन्त्री गृहमन्त्री कोही पनि संवादमा छैनन् । हामी एक्लै संसार बोकेर हिँड्छौँ जस्तो गरिरहेका छन् । त्यो सम्भव छैन । गृहमन्त्रीको सुध्रिनुस् भन्ने अभिव्यक्ति मुर्खताजस्तो लाग्छ । शासकीय अनुभवको कमी पनि हो । उहाँले के देखाउने हो र ? अब त उहाँले जवाफ दिनुपर्छ । पुरानालाई त जनताले दण्डित गरिसक्यो नि । अहिले सडकमा छ पुरानाहरू, सच्चिएर फेरि जनताको भावना बोकेर राज्यसत्ताको नेतृत्व गर्न आउँछौँ । यो हाम्रो कमिटमेन्ट हो । तर आज गृहमन्त्री जवाफ दिने ठाउँमा हुनुहुन्छ । उस्तै परे जनताले उहाँलाई देखाइदिन सक्छन् ।’
उनले सरकारमा रहेको व्यक्तिले आलोचनाभन्दा जवाफ दिनुपर्ने भन्दै जनतामा असन्तुष्टि बढ्दै गए त्यसको परिणाम भोग्नुपर्ने चेतावनी समेत दिए।






