म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनाका नगेन मगर हिजोआज जंगलमा रातो च्याउ खोज्न व्यस्त छन् । नगेनसहित चार जना मुनाका युवाको समूह रातो च्याउ संकलन गर्नका लागि करिब दश दिनका लागि बस्दोबस्तीका सामानसहित जंगलमै गोठ बनाएर बसेका छन् । “तीन जनाले च्याउ खोज्नुहुन्छ, मैले जंगलबाट डोकोमा बोकेर गाउँमा ल्याउने गरेको छु,” उनले भने, “करिब दैनिक ५० किलोग्राम च्याउ संकलन र बिक्री भइरहेको छ ।”
नगेनले शुक्रबार करिब रु ४० हजारको रातोच्याउ बिक्री गरेको बताए । लेकाली क्षेत्रका बासिन्दा च्याउ पलाउने याम सुरु भएपछि जंगल पसेका छन् । प्राकृतिक रूपमा पाइने रातो च्याउ लेकाली क्षेत्रका बासिन्दाको लागि आम्दानीको स्रोत बनेको छ । च्याउको सुरक्षाका लागि पलाउने ठुटाको नजिकै बसेर ओगट्ने चलन छ ।
मध्यजेठदेखि मध्यअसारसम्म र मध्यभदौदेखि असोजसम्म मात्र च्याउ टिप्ने उपयुक्त मौसम हो । समुन्द्री सतहदेखि तीन हजारदेखि चार हजार मिटर उचाइका जंगलमा खस्रु, हिमाली सल्ला, फलाट, दबदबे जातका सुकेका रूखमा प्राकृतिक रूपमा बर्खायाममा उम्रने रातोच्याउ तरकारीको रूपमा उपभोग हुन्छ ।
पोषिलो, अर्ग्यानिक र औषधीय गुण पाइने तथा स्वादिलो हुने भएकाले रातो च्याउको माग उच्च हुने गरेको धवलागिरी गाउँपालिका–३ मुनाका मनबहादुर पुनले बताए । “मासुको विकल्पमा पनि रातो च्याउको उपभोग हुने गर्छ,” उनले भने “रातो च्याउ पोषिलो र तागतिलो तरकारीको रूपमा परिचित छ ।”
ताजाका साथै प्रशोधन र सुकाएर पनि रातो च्याउ उपभोग गर्न सकिन्छ । बजारमा बस्ने र विदेशमा पुगेकाले रातो च्याउको चाहना गर्ने गरेका मुनाका व्यवसायी रुपा शेरपुञ्जाले बताए । गाउँबाट सहर र विदेशमा कोशेलीको रूपमा रातो च्याउ पठाउने चलन रहेको छ ।
सडक यातायातको सुविधासँगै लेकाली क्षेत्रका बासिन्दाले जङ्गलमा रातो च्याउ टिपेर एकै दिनमा बेनी र पोखराका बजारमा पुर्याउन थालेका धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए। “रातो च्याउ बेरोजगारको लागि रोजगारी र आम्दानीको स्रोत बनेको छ,” उनले भने “स्थानीयले संकलन गर्ने च्याउलाई बजारीकरणका लागि ब्यापारिसँग समन्वय गरेका छौँ ।” सडक यातायातको सुविधा नहुँदा सुकुटी बनाएर रातो च्याउ बेच्ने गरेका थिए ।
ताजा रातोच्याउ प्रतिकेजी रु एक हजारका दरले किनबेच भइरहेको छ । सुकुटी बनाएको प्रतिकेजी रु चार हजारदेखि पाँच हजारसम्म पर्छ । रातो च्याउमा प्रोटिन र विभिन्न मिनरल्स तत्त्व पाइने नेपाल कृषि अनुसन्धान परिषद्को रातो च्याउ खेती प्रविधि पुस्तिकामा उल्लेख छ ।
रातो च्याउ टिप्न जोखिम र दुःख पनि छ । वस्तिदेखि टाढाको जंगलमा वन्यजन्तुको आक्रमण हुने जोखिम हुन, सुकेका अग्ला रूखमा उम्रेको च्याउ टिप्न ज्यान जोखिममा राखेर चढ्नु सजिलो छैन । रातो च्याउ सजिलै चिन्न सकिने भएकाले विषालु च्याउको जोखिम भने नहुने बताइन्छ ।






