काठमाडौँ । सुनजस्तो देखिने पहेँलो धातु देखाएर १ करोड ३९ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार टोखा नगरपालिका-९, मिलन टोलस्थित एक गेस्ट हाउसबाट प्रहरीले ठगीमा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रहरी वृत्त गोंगबुबाट खटिएको प्रहरी टोलीले नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीको सूचनाका आधारमा सुनजस्तो देखिने पहेँलो धातु देखाई पटक-पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका-१ घर भई काठमाडौँको नयाँ बसपार्क क्षेत्रमा बस्दै आएका २८ वर्षीय अनिश थापा मगरलाई पक्राउ गरेको हो।
प्रहरीले थापा मगरको साथबाट नक्कली सुनजस्तो देखिने पहेँलो धातु ५६ ग्रामसमेत बरामद गरेको जनाएको छ। उनीविरुद्ध ठगीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार पक्राउ परेका थापा मगर जबरजस्ती करणी कसुरमा समेत कैद भुक्तान गरिरहेका व्यक्ति हुन्। उनी २०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेकोसमेत खुलेको प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।






