काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बुद्धिप्रसाद पन्तले अरूको नागरिकता दुरुपयोग गरी कम्पनी तथा बैंक खाता सञ्चालन गरेर राजस्व ठगी गर्ने प्रवृत्तिबारे सरकारको ध्यानाकर्षण गराएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद पन्तले नागरिकताको दुरुपयोगबाट वास्तविक ठगी गर्ने व्यक्ति उम्किने र निर्दोष नागरिक कानुनी कारबाहीमा पर्ने घटना बढिरहेको दाबी गरे।
उनले आफ्नो निर्वाचन क्षेत्रका विपन्न युवा पविन्द्र साह गोढको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गरे। उनका अनुसार सामान्य चिनजानका व्यक्तिले गोढको नागरिकता प्रयोग गरी कम्पनी दर्ता गर्नुका साथै बैंक खाता खोलेर त्यसको पावर अफ अटर्नीसमेत आफूसँग राखेका थिए।
उक्त कम्पनीमार्फत राजस्व छली भएको र त्यससम्बन्धी मुद्दामा राजस्व अनुसन्धान विभागले कारबाही अघि बढाएको सांसद पन्तले बताए। उनका अनुसार उच्च अदालत पाटनले गोढलाई तीन करोड रुपैयाँभन्दा बढी जरिवाना तथा ६ महिनाको कैद सजाय सुनाएको थियो।
तर, गोढलाई आफ्नो नाममा कम्पनी दर्ता भएको, बैंक खाता खोलिएको तथा त्यसबाट राजस्व छली भएको विषयमा जानकारी नै नभएको पन्तको भनाइ छ। उनले मुद्दाको कानुनी प्रतिरक्षा र पुनरावेदन प्रक्रियाबारे समेत गोढ अनभिज्ञ रहेको बताए।
अदालतबाट तोकिएको म्याद गुज्रिएपछि प्रहरीले उनलाई पक्राउ गरी कारागार पठाएको सांसद पन्तले सदनलाई जानकारी गराए।
‘मेरो क्षेत्रमा मात्रै यस्ता आधा दर्जन घटना छन्,’ उनले भने, ‘राजस्व छलीका वास्तविक दोषीलाई कारबाही गरी नागरिकता दुरुपयोगबाट फसाइएका त्यस्ता निर्दोष युवालाई न्याय दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
पन्तले नागरिकताको दुरुपयोगमार्फत कम्पनी खोल्ने, बैंक खाता सञ्चालन गर्ने तथा राजस्व छली गर्ने गतिविधिको प्रभावकारी अनुसन्धान गरी वास्तविक दोषी पहिचान गर्न सरकारसँग आग्रह गरेका छन्। साथै, यस्तो प्रक्रियामा अनजानमा प्रयोग भएका नागरिकलाई कानुनी फन्दाबाट जोगाउनेतर्फ समेत आवश्यक कदम चाल्नुपर्ने उनको माग छ।






