काठमाडौँ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुन:स्थापनाका लागि आफ्नो एक महिनाको सम्पूर्ण पारिश्रमिक तथा सुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको अवस्था बुझ्न प्रदेश प्रमुख देवकोटा स्वयं भदौ १३ गते नुवाकोटको विदुरस्थित त्रिशूली नदी क्षेत्र पुगेका थिए।
बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी प्रभावितको अवस्था नजिकबाट बुझेपछि उनीहरूको पीडामा केही राहत पुगोस् र पुन:स्थापनाको कार्यमा सहयोग होस् भन्ने उद्देश्यले एक महिनाको सुविधा राहत कोषमा उपलब्ध गराएको जनाइएको छ।
प्रदेश प्रमुख देवकोटाले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका कामलाई थप प्रभावकारी र तीव्र बनाउन सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन्।
उनले विपद्को समयमा प्रभावित नागरिकको उद्धार, राहत तथा पुन:स्थापनाका लागि सबै पक्ष एकजुट भएर परिचालन हुनुपर्नेमा जोड दिएका छन्।
संकटको अवस्थामा प्रभावितको सहयोगका लागि नागरिक, संघ-संस्था तथा सम्बन्धित सबै निकायलाई एकताबद्ध भएर सहयोगमा जुट्नसमेत प्रदेश प्रमुख देवकोटाले अपिल गरेका छन्।






