काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराजमा अस्पतालबाहिरै बच्चा जन्माउन बाध्य भएकी बबिताकुमारी पासवानको घटनामा दोषी देखिएका चिकित्सक, नर्स तथा कर्मचारीमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताएकी छन् ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा सांसद श्रीकृष्णप्रसाद अधिकारीको प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले नेपाल मेडिकल काउन्सिल र स्वास्थ्य मन्त्रालयको टोलीले घटनाको स्थलगत छानबिन गरी प्रतिवेदन बुझाइसकेको जानकारी दिएकी हुन्।
उनले प्रतिवेदनले औँल्याएका आधारमा आचारसंहिता उल्लंघन गरेको देखिएका चिकित्सक, नर्स तथा प्रशासनिक कर्मचारीलाई आवश्यक कारबाहीका लागि सम्बन्धित काउन्सिलमा पठाइएको बताइन् ।
अस्पतालको जनशक्ति व्यवस्थापनसमेत कमजोर रहेको पाइएको भन्दै मन्त्री मेहताले गजेन्द्रनारायण सिंह अस्पतालमा ८० जना अस्थायी दरबन्दी थप गर्ने प्रस्तावमा अर्थ मन्त्रालयको सहमति भइसकेको र मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी रहेको जानकारी दिइन्।
थप सात चिकित्सकलाई समेत दुई वर्षका लागि अस्पतालमा खटाइएको उनले बताइन् । मन्त्री मेहताले ‘सुरक्षित मातृत्व सुविधा होइन, हरेक आमाको अधिकार हो’ भन्दै कुनै पनि महिला प्रसव पीडामा स्वास्थ्य संस्थाको ढोकाबाहिर बस्नुपर्ने अवस्था दोहोरिन नदिने प्रतिबद्धता जनाए ।
मन्त्री मेहताले सरकारी अस्पतालमा बिरामीको लामो लाइन र टिकटको समस्या समाधान गर्न अनलाइन टिकट, टोकन प्रणाली, डिजिटल सेवा र फास्ट ट्र्याक विस्तार भइरहेको पनि बताइन्। उनका अनुसार अस्पतालको सेवा प्रवाह अनुगमनका लागि मन्त्रालयले ४० सदस्यीय समिति गठन गरेको छ। विभिन्न सरकारी अस्पतालमा विस्तारित स्वास्थ्य सेवा (ईएचएस) सञ्चालन भइरहेको र वीर अस्पतालमा समेत ईएचएस सञ्चालनको तयारी भइरहेको उनले जानकारी दिइन् । मन्त्री मेहताले डिजिटल सेवा र विस्तारित ओपीडीमार्फत बिरामीको चाप तथा प्रतीक्षा समय घटाएर सरकारी अस्पतालको सेवा थप सहज बनाउने मन्त्रालयको योजना रहेको बताइन्।






