काठमाडौँ । चीनले नयाँ समूहका उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चीनको उत्तरी क्षेत्रमा रहेको शान्सी प्रान्तस्थित थाइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट स्थानीय समयअनुसार साँझ ६ बजेर ५० मिनेटमा लङ मार्च–२ डी रकेटमार्फत उपग्रहहरू प्रक्षेपण गरिएको हो । पाइस्याट–२ १३ देखि १६ नाम दिइएका चार वटा उपग्रहलाई रकेटमार्फत अन्तरिक्षमा पठाइएको थियो ।
प्रक्षेपणपछि सबै उपग्रहहरू सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेका छन् । प्रक्षेपण केन्द्रका अनुसार यो अभियानसँगै लङ मार्च रकेट शृङ्खलाको कुल उडान संख्या ६६८ पुगेको छ । यो प्रक्षेपण चीनको अन्तरिक्ष कार्यक्रमअन्तर्गत नियमित रूपमा अघि बढिरहेको उपग्रह प्रक्षेपण अभियानको पछिल्लो कडी हो ।






