काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सञ्चालन गरेको स्वीप अपरेसनका क्रममा १२१ जना पक्राउ परेका छन्। प्रहरीले काठमाडौँका विभिन्न स्थानमा २४ घण्टासम्म चलाएको अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा १०५ पुरुष, १५ महिला र एक जना अन्य रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
प्रहरीका अनुसार समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने र अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले अपरेसन सञ्चालन गरिएको हो। अभियानका क्रममा सार्वजनिक सेवा प्रवाहमा अनावश्यक दुःख-हैरानी दिने, अभद्र व्यवहार गर्ने तथा चोरी र लुटपाटमा संलग्न रहेको आरोप लागेका व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
त्यसैगरी बिचौलियाको भूमिका निर्वाह गर्ने तथा गुण्डागर्दीजस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि पनि कारबाहीका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
काठमाडौँका विभिन्न क्षेत्रमा हुने आपराधिक तथा अवाञ्छित गतिविधिमाथि निगरानी बढाउँदै प्रहरीले यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।







